• ३० असोज २०८१, बुधबार

२२ जना प्रहरी पुरस्कृत

blog

शिवराज ढुङ्गाना 

मङ्गलसेन, असोज ३० गते । शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछामले २२ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा अछामका विभिन्न स्थानमा खटिएका प्रहरीलाई नगदसहित पुरस्कृत गरिएको प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिनुभयो ।

प्रहरी दिवसमा पुरस्कृत हुनुहुनेमा ११ प्रहरी जवान, चार जना प्रहरी हवल्दार, तीन जना प्रहरी सहायक हवल्दार नगदसहित पुरस्कृत हुनुभएको हो । यस्तै, दुई जना प्रहरी सहायक निरीक्षक र प्रहरी वरिष्ठ हवल्दार र कार्यालय सहयोगी एक–एक जना छन् । अस्थायी प्रहरी पोष्ट कालागाउँलाई निःशुल्क ६ रोपनी जग्गा उपलब्ध गराउने मङ्गलसेन नगरपालिका –१४ का सुरत सोडारी, मैपति सोडारी र शेरबहादुर कठायतलाई सोही अवसरमा सम्मानित गरिएको छ । 

प्रहरी दिवसको अवसरमा आयोजित भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेलमा पहिलो, दोस्रो र तेस्रो हुने प्रहरी खेलाडीहरूलाई पुरस्कार प्रदान गरिएको छ । 

प्रहरी दिवसका अवसरमा शुभकामना मन्तव्यका क्रममा प्रहरीले न्यूनतम स्रोतसाधन र तलबमा अधिकतम काम गरेको भन्दै पारिश्रमिक वृद्धिमा जोड दिइएको छ । 

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवप्रसाद लम्सालले अप्ठ्यारो अवस्थामा अछाम प्रहरीले शान्ति सुरक्षा, अनुसन्धान र विपतमा सह्रानीय काम गरेको भनाइ राख्नुभयो । प्रजिअ लम्सालले समाजको विकास र प्रविधिसँग अपराध र सुरक्षामा नयाँ चुनौती रहेकाले प्रहरीलाई त्यसमा पनि ध्यान दिन आग्रह गर्नुभयो ।  

प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न शुभकामना कार्यक्रममा पूर्व प्रहरी कर्मचारी, पत्रकार र सामुदायिक प्रहरी सेवा केन्द्रबाट प्रहरीमा स्रोतसाधनको अभाव भएकाले यसको व्यवस्थापनमा जोड दिइएको छ ।