• ३० असोज २०८१, बुधबार

बाँकेबाट तीन करोडका खसीबोका बिक्री

blog

राप्तीसोनारी–२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थामा खसीबोका बिक्री गर्दै किसान । तस्बिर सौजन्यः गणेश खत्री

गजेन्द्र गुरुङ

खजुरा, असोज ३० गते । दसैँ अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर निर्यात भएका हुन् ।

दसैँ सुरु भएदेखि असोज २८ गतेसम्म जिल्लामा रहेका विभिन्न १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमार्फत उक्त खसीबोका बिक्री भएका छन् । जिल्लाको विभिन्न स्थानमा रहेका १४ वटा सहकारीमार्फत् तीन करोड ४६ हजार ४९६ रुपियाँ बराबरका ५५ हजार ८२६ किलो तौल भएका १ हजार ७८६ वटा खसीबोका सहकारीमार्फत बिक्री भएर देशको विभिन्न सहरमा निर्यात भएका हुन् ।

दसैँमा सबैभन्दा बढी राप्तीसोनारी –२ खोरीयास्थित जननी सामाजिक उद्यमी महिला सहकारी संस्थाले कारोबार गरेको छ । जननीले ४९ लाख ४६ हजार ५४० रुपियाँ बराबरका ९ हजार १४६ किलो तौल भएका २८१ वटा खसीबोका बिक्री गरेको प्रबन्धक गणेश खत्रीले जानकारी दिनुभयो ।

त्यसैगरी राप्तीसोनारी –७ फत्तेपुरमा रहेको रोशनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३८ लाख १६ हजार ७९५ रुपियाँ बराबरको ७ हजार २०१ किलो तौल भएका १९६ वटा खसीबोका बिक्री गरेको छ । 

त्यसपछि बैजनाथ गाउँपालिका –८ टिटहरियामा रहेको दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३५ लाख २९ हजार ६१४ रुपियाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा खसीबोका बिक्री गरेको छ ।

जननीका प्रबन्धक गणेश खत्रीका अनुसार बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले नौ लाख ९५ हजार ६६५ रुपियाँ बराबरका १ हजार ८७९ किलो तौल भएका ५७ वटा खसीबोका बिक्री गरेको छ । अप्सरा साउमससंले १० लाख ४१ हजार ३३० रुपियाँ बराबरका १ हजार ९२३ किलो तौल भएका ६९ वटा खसीबोका बिक्री गरेको छ ।

त्यसैगरी कुसुम साउमससंले १८ लाख ३५ हजार ४३० रुपियाँ बराबरका ३ हजार ३६० किलो तौल भएका ९८ वटा, सुनकोशी साउमससंले १७ लाख आठ हजार २८५ रुपियाँ बराबरका ३ हजार २०१ किलो तौल भएका ९६ वटा र सङ्गिनी साउमससंले १५ लाख ७५ हजार २०५ रुपियाँ बराबरका २ हजार ९६० किलो तौल भएका ९२ वटा खसीबोका बिक्री गरेको प्रबन्धक खत्रीले जानकारी दिनुभयो ।

राप्तीसोनारी –९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाका प्रबन्धक भूपेन्द्र खड्काका अनुसार सो सहकारीले २६ लाख ५९ हजार २९५ रुपियाँ बराबरका ४ हजार ९७० किलो तौल भएका १९५ वटा खसीबोका बिक्री गरेको छ । 

त्यसैगरी उपहार साउमससंले छ लाख ६३ हजार ७०५ रुपियाँ बराबरका १२६० किलो तौल भएका ४० वटा खसीबोका बिक्री गरेको छ । प्रबन्धक खड्काका अनुसार सशक्तीकरण साउमससंले ११ लाख ३१ हजार ५५० रुपियाँ बराबरका २ हजार १३५ किलो तौल भएका ७० वटा खसीबोका बिक्री गरेको छ । बैजनाथ साउमससंले आठ लाख ४७ हजार रुपियाँ बराबरका १ हजार ५४० किलो तौल भएका ४७ वटा खसीबोका बिक्री गरेको खड्काले जानकारी दिनुभयो ।

राप्तीसोनारी –६ टेपरीस्थित नयाँ सिर्जनशील साउमससंले ३३ लाख दुई हजार २१० रुपियाँ बराबरका ६ हजार २७८ किलो तौल भएका २२२ वटा खसीबोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताउनुभयो । उहाँका अनुसार दीपलगन साउमससंले ३५ लाख २९ हजार ६१४ रुपियाँ बराबरका ६ हजार १९९ किलो तौल भएका १९३ वटा, रोशनी साउमससंले ३८ लाख १६ हजार ७९५ रुपियाँ बराबरका ७ हजार २०१ किलो तौल भएका १९६ वटा र परिवर्तन साउमससंले १९ लाख ९३ हजार ८७२ रुपियाँ बराबरका ३ हजार ७५५ किलो तौल भएका १३० वटा खसीबोका बिक्री गरेका छन् ।

बाँकेमा पछिल्लो समयमा बाख्रापालनतर्फ किसान आकर्षित भएका छन् । सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमार्फत किसानले बाख्रापालन गर्दैआएका छन् । जिल्लाका आठ पालिकामध्ये धेरैजसो राप्तीसोनारी गाउँपालिकाका किसानहरू बाख्रापालनतर्फ बढी आकर्षित भएका छन् । राप्तीसोनारीमा जङ्गल क्षेत्र बढी भएका कारण पनि यहाँका किसानहरू यस पेसातर्फ आकर्षित भएका हुन् । 

किसानले पालेका खसीबोकाहरु सहकारी संस्थामार्फत बिक्री गर्दैआएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपियाँसम्म नाफा खाएर बिक्री गर्दैआएका छन् । अन्य समयभन्दा दसैँको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ । बाख्रापालनबाट महिला किसानहरू आत्मनिर्भर बन्दैगएका छन् ।