• ३० असोज २०८१, बुधबार

डडेलधुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो

blog

डडेलधुरामा दुर्घटनामा परेको बैतडी जाँदै गरेको बस । तस्बिर सौजन्यः रेम रैकाल

डडेल्धुरा, असोज ३० गते । डडेलधुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा बसको छतमुनि च्यापिएका अवस्थामा थप एक जनाको शव फेला परेसँगै मृतकको सङ्ख्या पाँच पुगेको हो । 

बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार खोज तथा उद्धारका क्रममा उनको शव आज बिहान ११ बजेतिर मात्रै फेला परेको हो । 

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीका लागि छुटेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस गएराति डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा दुर्घटना भएको थियो । 

दुर्घटनामा मृत्यु भएका अन्य चारजनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौंडी–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् । बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा परेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । 

दुर्घटनामा परी अन्य पनि बेपत्ता भएको आशङ्कामा प्रहरीले खोजी जारी राखेको छ । स्थानीय सर्वसाधारण र प्रहरी खोजतलास जारी राखेका छन् । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ । रासस

यो पनि पढ्नुहोस

डडेलधुरा बस दुर्घटना : मृतक चारजना एकै परिवारका