• ३० असोज २०८१, बुधबार

धौलागिरि हिमालमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन

blog

धौलागिरि हिमाल । फाइल तस्बिर ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरी आधार शिविर ल्याइएको छ । बुधबार बिहान एभरेष्ट एयरको होलिकोप्टरबाट पुगेको उद्धार र टोलीले घटनास्थलबाट शव सङ्कलन गरी आधारशिविर ल्याएको हो ।  

हिमाल आरोहणका क्रममा एक हप्ताअघि सात हजार एक सय मिटर उचाइमा मृत अवस्थामा भेटिएका पर्वतारोहीको शव सङ्कलन गरी काठमाडौं लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार एभरेष्ट एयरको हेलिकप्टरबाट हिमालमा पुगेका शेर्पाको टोलीले घटनास्थलबाट शव सङ्कलन गरेको हो । कठिन भूगोल र प्रतिकूल मौसमका कारण एक हप्तादेखि शव उठाउन सकिएको थिएन । सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पाको नेतृत्वमा पाँचजना शेर्पाहरुको टोली शव उठाउन खटिएका प्रनाउ श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, "बुधबार बिहान हेलिकोप्टरमा पुगेको शेर्पासहितको उद्धार  टोलीले घटनास्थलबाट इटाली आधार शिविरमा पाँचजना आरोहीको नै शव सङ्कलन गरेर ल्याइएको छ। केहीबेरमा काठमाडौं लैजान तयारी भएको सूचना प्राप्त भएको छ ।’’ उद्धारकर्ताहरुले हेलिकोप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेको उहाँले बताउनुभयो । 

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार सात सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ रसियाका पुरुष पर्वतारोही धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुईजनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोहीले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।