• ३० असोज २०८१, बुधबार

फरार अभियुक्त ९ वर्षपछि पक्राउ

blog

अनिल पराजुली

हेटौँडा, असोज ३० गते । लागूऔषध मुद्दामा ९ वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मकवानपुर जिल्ला अदालतले लागूऔषध मुद्दामा दोषी ठहर गरेका मकवानपुर मनहरी गाउँपालिका–७, रमनटारका ४६ वर्षीय मिलन लामा स्याङ्बोलाई पक्राउ गरिएको हो ।

२०७२ वैशाखामा लागुऔषध गाँजा र चरेश मुद्दामा स्याङ्बोलाई मकवानपुर जिल्ला अदालतले दुई वर्ष कैद र २० हजार रुपियाँ जरिवाना गर्ने फैसला गरेको थियो । फरार रहेका मिलनलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले घरैवाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । अभियुक्तलाई कैद र जरिवाना असुल गर्न मङ्गलवारै अदालतमा पेस गरिएको उहाँले जानकारी दिनुभयो ।