• ३० असोज २०८१, बुधबार

डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको आरोप

blog

देवरामप्रसाद यादव

सप्तरी, असोज ३० गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आर्थिक अनियमितता भएको स्थानीयवासीले आरोप लगाएको छ । नगरप्रमुख रामलखन मलाहले नगपालिकामा दुई वटा गाडी हुँदाहुँदै पनि तेस्रो गाडी भाडामा लिएर स्रोत साधनको दुरुपयोग गरेको आरोप लागेको हो ।

नगरपालिकामा जनप्रतिनिधी तथा कर्मचारीको प्रयोगका लागि पालिकाकै बजेटबाट खरिद गरिएका दुई वटा गाडी हुँदाहुँदै पनि नगरप्रमुख मलाहले हालै डाक्नेश्वरी नगरपालिका–८ का पनालाल पण्डितको नाममा रहेको मधेश प्रदेश–६००१ च–००२४ नम्बरको गाडी एक १ लाख ५ हजार प्रति महिनाको दरमा भाडामा लिएका छन् भने पालिकाकै स्रोतबाट तलभत्ता खाने गरी चालक समेत राखिएको छ । 

नगरपालिकामा दुई वटा गाडी रहकै अवस्थमा तेस्रो गाडी भाडामा लिइएको स्थानीयवासी ओमप्रकाश यादवले बताउनुभयो । उहाँका अनुसार नगरपालिकामा आर्थिक दुरुपयोगको साथै अनियमितता बढेको बताउँनहुँदै यसअघि नगरपालिकामा रहेको स १ झ ५०९ नम्बरको गाडी मर्मत गर्न  १५ लाख खर्चिएको र अहिले आएर त्यो गाडीलाई अलपत्र अवस्थामा छाडेको बताउनुभयो । उहाँले नगर प्रमुख मलाहले १५ लाख खर्चिएर स १ झ ५०९ नम्बरको गाडी अलपत्र अवस्थामा छाडेर ७७ लाखमा पालिकाले खरिद गरेको अर्को गाडी पनि थन्काएर राखेको बताउनुभयो ।

नगर प्रमुख मलाहले पनालाल पण्डितको नाममा रहेको मधेश प्रदेश–६००१ च–००२४ नम्बरको भाडामा लिएको गाडी उहाँको आफ्नै भएको स्थानीय प्रमोद यादवले बताउनुभयो । उहाँले नगरप्रमुख मलाहले नगरपालिकाबाट भाडा पनि आउने र आफ्नो गाडी आफैँ चढ्ने मनसायले दुई महिना अगाडि मिर्चैया नगपालिकाका एक व्यापारीबाट २८ लाखमा मित पनालालपण्डितको नाममा गाडी खरिद गरेको बताउनुभयो ।  

यस सम्बन्धमा निमित्त प्रमुख प्रशासकिय अधिकृत रामकिसुन यादवसँग प्रतिक्रिया माग्दा पालिकामा रहेको दुई वटा गाडीमध्ये एउटा गाडी वडासम्म पनि जाने अवस्था नरहेका कारण भाडामा लिनुपरेको बताउनुभयो । उहाँले भाडामा प्रयोग भइरहेको गाडी नगरप्रमुख मलाहको रहे नरहेको आफूलाई थाहा नभएको बताउनुभयो । यद्यपि उहाँकै सहयोगी पनालाल पण्डितसँग पालिकाको लागि गाडी भाडामा लिएको बताउनुभयो । गाडी भाडाको लागि पण्डितसँग नगरपालिकाले सम्झौता गरेको अधिकृत यादवले बताउनुभयो । 

सो सम्बन्धमा नगर प्रमुख मलाहले नगरपालिकामा भएको गाडी चल्ने अवस्थामा नभएकोले भाडामा लिनु परेको बताउनुभयो । उहाँले विगतदेखि नै प्रमुख प्रशासकीय अधिकृतहरुले आफ्नो लागि एउटा गाडी प्रयोग गर्नका लागी राख्ने गरेको बताउनुभयो । नगरपालिकाले भाडामा गाडी लिएको त्यो मेरो नरहेको साथै आफू माथि लगाइएको आरोप निराधार रहेको बताउनुभयो । आफू चुनाव जितेको नपचेकाहरुले यस्तो झुटा निराधार आरोप लगाउने गरेको नगरप्रमुख मलाहले बताउनुभयो ।