• ३० असोज २०८१, बुधबार

लोप हुँदै ऐतिहासिक सराँय नाच

blog

सराँय नाच नाच्दै । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, असोज ३० गते ।
गुल्मीमा ऐतिहासिक सराँय नाच लोप हुँदै गएको छ । पश्चिम क्षेत्रको गुल्मी, अर्घाखाँची,प्युठान र पाल्पाका शक्तिपीठमा दसैँको भोलिपल्टबाट सराँय नाच्ने प्रचलन छ ।

मन्दिरमा भक्तजनले चढाएका खुकुरी, तरवार, खुँडा, खड्ग हतियार एक आपसमा ठोक्काउँदै ‘वाख्खै वा’ को भाषामा सराँय खेलिन्छ । केही समय पहिले हतियार नै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो सयम यसमा कमी हुँदै आएको छ ।

हतियार प्रदर्शन गर्दा दुर्घटना हुने डर धेरै हुने भएकाले यो पछिल्लो समय छोडिएको कतिपयले बताउँदै आएका छन् । जिल्लाका धुर्कोट, अर्जै, दिगाम चारपाला, इस्मा र चोयघा, चन्द्रकोटलगायतका स्थानमा यो नाच अझै पनि प्रसिद्ध छ । गुल्मीको अर्जै फूलबारीमा खेलिने सराँय नाच जिल्लाकै सबैभन्दा ठुलो मानिन्छ । अर्जैमा सराँय  नाच  पूर्णिमाको दिन खेल्ने गरिन्छ ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले सराँय  नाचलाई संरक्षण गर्नका लागि कुनै कसर बाँकी नराख्ने दाबी गर्नुभएको छ । सामाजिक सद्भाव एकता कायम गर्नका लागि पनि सराँय नाँचले महत्त्वपूर्ण  भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । धुर्कोट कोतमा आफू पनि हतियार नचाएरै सराँय खेल्ने गरेको बताउँदै यसको संरक्षण गर्न सबै एकताबद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

इश्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले सराँय नाच संरक्षणका लागि पालिकाले प्राथमिकता दिएको बताउनुभयो । पछिल्लो समयमा सराँच नाच पुस्तान्तरण हुन नसकेकाले त्यसका लागि पहल गर्ने, जनप्रतिनिधिहरु सबै यसको संरक्षणका लागि खट्ने र उचित प्रचारप्रसार गर्ने गरी योजना बनाएको उहाँको दाबी छ ।  परम्परा र संस्कृतिलाई जोगाउँन स्थानीय सरकार सधै साथमा रहेको खड्काले दाबी गर्नुभयो ।

पट्टा र मालश्री पनि लोप हुँदै
यसैगरी, पछिल्लो समय फुलपाती भित्र्याउँदा गाइने मालश्री र पट्टा नाच पनि लोप हुँदै गएको छ । चाँपटारीबाट फूलपाती ल्याउने र इस्माकोतबाट ब्राहमण र पुजारीहरु झरेपछि मैदानमा करिब डेढ घण्टा रोचक पट्टा नाच देखाउने र मालश्री गाउने प्रचलन भएपनि अहिले हराउँदै आएको पट्टा नाचमा अब्बल खुमबहादुर बस्नेतले बताउनुभयो । यो परम्परा अरु कसैका लागि हो भन्ने मानसिकताको कारण अहिले त्यो प्रथा परम्परा लगभग हराएको उहाँको भनाइ छ ।

यो रोचक नाच र गीत पाको पुस्तासँगै लोप भएको आनन्दपुर माविका शिक्षक नारायण घिमिरेले बताउनुभयो । आफुहरुले सिकेको मालश्री अब आफुहरु पछि गाउने कुनै व्यक्ति वा समुदाय नभएको मालश्री गाउँदै आउनुभएका इस्मा रजस्थलका शोभाखर पैयानीले बताउनुभयो । त्यस्तै सराँय नाच पनि उस्तै अवस्थामा छ । सिक्ने र सिकाउने पुस्ता बीचको समन्वय अभावमा पुरानो कला संस्कृति हराएको भन्दै पुरानो पुस्तालाई मालश्री र पट्टा खेल्न सिकाउनुपर्नेमा यहाँका बुढापाकाहरुले जोड दिनुभएको छ ।