• २ कात्तिक २०८१, शुक्रबार

बुटवल–चिडियाखोला सडकको नयाँ ठेक्का

blog

निर्माण गर्न लागिएको बुटवलको सडक । तस्बिर :छविलाल पाण्डे

बुटवल समाचारदाता

बुटवल, असोज ३० गते । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नगरेपछि पुरानो ठेक्का सम्झौता रद्द गरी बाबुल दर्शन मालिका जेभीले नयाँ टेन्डरमार्फत निर्माणको जिम्मा पाएको छ । 

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण कम्पनी बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण सम्पन्न नगरी आलटाल गरेपछि ठेक्का तोडेर नयाँ ठेक्कामार्फत बाबुल दर्शन मालिका जेभीले निर्माणको जिम्मा पाएको बताउनुभयो । सूचना अधिकारी लम्सालका अनुसार उक्त सडक एक वर्षमा सम्पन्न गर्ने र छ लेनमा विस्तार गर्ने गरी ३३ करोड रुपियाँमा ठेक्का लागेको हो । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक बनाउन सात वर्षअघि बिरुवा जेभी कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो । 

२०६९ सालमा चार लेनमा निर्माण भएको यो सडकखण्ड पछि छ लेनमा विस्तार गर्ने योजना अघि बढेको थियो । यो सडकमा अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट प्रविधिबाट कालोपत्रे गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । बुटवलको मुख्य बजार क्षेत्र रहेको यो सडक निर्माणको जिम्मा सात वर्षअघि कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौँले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपियाँमा ठेक्का पाएको थियो । 

२०७६ सम्ममा सडक विस्तार सक्ने गरी २०७३ चैत १३ मा ठेक्का सम्झौता भएको थियो तर निर्माण कम्पनीले सडक निर्माणमा लापर्बाही गरेपछि सडक डिभिजन कार्यालय बुटवलले ठेक्का सम्झौता रद्द गरेको हो । उक्त सडक निर्माणका व्रmममा ३५ करोड रुपियाँ खर्च भइसकेको थियो । पटक पटक म्याद थप्दासमेत सात वर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले दुई महिनाअघि पुरानो ठेक्का रद्द गरी नयाँ टेन्डर गरेको थियो । 

अब निर्माण हुने उक्त सडक छ लेनमा र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी गरिएको छ । अब सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ ।