• ११ पुस २०८१, बिहिबार

धिमे बाजा संरक्षणमा युवा

blog

बेनी समाचारदाता

म्याग्दी (बेनी), असोज ३० गते । नेवारी समुदायमा लोकप्रिय रहेको धिमे बाजा संरक्षणमा बेनीका युवा जुटेका छन् । धिमे बाजा नेवारी समुदायको पुरानो मौलिक संस्कृति हो । बेनी बजारमा नेवारी समुदायको बसोबास सुरु भएसँगै धिमे बाजाको संस्कृति पनि भित्रिएको थियो । दसैँका अवसरमा युवाहरूले बजारमा पहिलो पटक धिमे बाजा प्रदर्शन गरेका छन् ।

बेनीमा धिमे बाजा पाका पुस्ताबाट नयाँ पुस्तामा पुस्तान्तरण भएको छ । नेवार युवाहरूको संस्था ल्याम्हपुचःको अगुवाइमा धिमे बाजा पुस्तान्तरणका लागि तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको ल्याम्हपुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा प्रचलित धिमे बाजालाई संरक्षण र नयाँ पुस्तामा सिप हस्तान्तरण गर्न पाका पुस्ताले युवालाई सहयोग गरेको उहाँले बताउनुभयो ।

.फूलपातीका अवसरमा बेनीमा बर्सौंपछि धिमे बाजा प्रदर्शन गरिएको थियो । नेवारी पोसाकमा सजिएका युवकयुवती धिमे बाजामा नाचेका थिए । आठ जनाको समूहले मादल र झ्याली बजाएका थिए भने नेवारी पोसाकमा सजिएका युवतीहरू नाचेका थिए । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदायका युवाहरू धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा जुटेको ल्याम्हपुचःका अध्यक्ष श्रेष्ठले बताउनुभयो । धिमे बाजालाई लोप हुन नदिन युवकयुवतीलाई एक महिनाको तालिम तथा प्रशिक्षणको आयोजना गरिएको थियो ।