• १० मंसिर २०८१, सोमबार

भ्रष्टाचारविरुद्ध अभियान

blog

राज्यको प्रादुर्भाव भएदेखि नै भ्रष्टाचार कुनै न कुनै रूपमा हुँदै आएको छ । समाजमा भ्रष्टाचारको आन्तरिक प्रकृतिले ठुलो बोझ उत्पन्न गरेको छ । यसले राष्ट्रिय सदाचार प्रणालीलाई कायम राख्न दबाब र तनाव उत्पन्न गरेको छ र विश्वव्यापी सदाचारको लक्ष्य, ध्येय र दृष्टिलाई हाँक पैदा गरेको छ । राष्ट्रिय, क्षेत्रीय, अन्तर्राष्ट्रियस्तरमा; सरकारी तथा गैरसरकारीस्तरमा र नागरिक समाजले यस्तो परिदृश्यलाई अन्त्य गरी पारदर्शिता, सदाचार र जवाफदेहितामा आधारित राज्य र समाज स्थापना गर्न अथक प्रयास गरिरहेका छन् तर तल्लो तहदेखि माथिल्लो तहसम्म भ्रष्टाचार विरोधी आन्दोलन सामान्य भएका छन् । नीति वकालत, नागरिक चेतना, सुशासनइतरका विस्तारित कार्यव्रmम, सञ्जाल र पहलबारे धेरै छलफल गरिन्छ तर भ्रष्टाचार विरोधी कार्य, कानुन कार्यान्वयन र पालना हुन सकेको पाइँदैन । 

भ्रष्टाचारलाई व्यक्तिगत, सार्वजनिक र निजी फाइदाका लागि पद र स्रोतको दुरुपयोग भनेर परिभाषित गरिएको छ । भ्रष्टाचारले नागरिकतन्त्रलाई बदनाम गर्न, नागरिकलाई यसको समृद्ध लाभांश (आचार, मान्यता र मूल्य) लाई रोक्न वा उल्लङ्घन गर्न सघाउँछ । अनि सरकार र शासनमाथिको विश्वासलाई कमजोर बनाउँछ । भ्रष्टाचारले आर्थिक वृद्धि हासिल गर्नमा बाधा पु¥याउँछ । अन्ततः दिगो विकास लक्ष्य प्राप्त गर्नमा अडचन पैदा गर्दछ, जुन संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी सार्वजनिक नीति हो । 

राजनीतिक र प्रशासनिक क्षेत्र सम्मिलित सार्वजनिक मामिलामा हुने भ्रष्टाचारलाई रोक्नु चुनौती नै भएको छ । आज हामीले देखेका भ्रष्टाचारमा घुस, अवैध कारोबार र अवैध भुक्तानी, नातावाद, पक्षपात, गैरजिम्मेवार, राज्य र सरकारी उपहारको दुरुपयोग, तस्करी, बेचबिखन, ठेक्कामा अनियमितता, राजनीतिक हस्तक्षेप र दुव्र्यवहार हुन् । भ्रष्टाचारले सार्वजनिक र निजी क्षेत्र आचारसंहितालाई खतरामा पार्ने, सार्वजनिक वस्तु र सेवा तथा बजार उत्पादनमा गुणस्तर र मात्रामा सम्झौता गर्ने तहमा पु¥याउँछ । यी मौद्रिक र गैरमौद्रिक प्रलोभनहरूले सुशासनमा चुनौती थप्ने काम गर्छ । 

भ्रष्टाचारको कारण पत्ता लगाउन जरुरी छ । सेवा प्रवाहमा कमजोर गुणस्तर, दण्डहीनता, सतर्कताको अभाव, लुटपाटको तहमा यसले पु¥याउँछ । पुँजीको लोभले कायम हुने सामाजिक प्रदर्शनात्मक प्रभाव, आय असमानता, कमजोर दक्षता, ठगीका कारण समाज र राष्ट्रलाई विकृतितर्फ लैजान्छ । विश्वका जुनसुकै देशमा भ्रष्टाचारलाई बढावा दिने लक्षणमध्ये स्रोतसाधनमा एकाधिकार, राजनीतिक संरक्षण र कमजोर कानुनी शासन हो । भ्रष्टाचार विरोधी निकाय र संसदीय अनुगमनको अस्तित्व रहेको अवस्थामा पनि भ्रष्टाचारविरुद्ध अभियान दुर्बल भएको पाइन्छ । कमजोर शासन र भ्रष्टाचार निहित मुद्दा हल हुन विलम्ब भएमा यसले मौलाउने अवसर पाउँछ । प्रभावहीन र अकुशल सार्वजनिक सेवाले विषाक्त कार्य संस्कृति जन्माउँछ र यसले भ्रष्टाचारको बोझ झन् थप्छ । 

सुशासनको एउटा ध्येय भ्रष्टाचारको न्यूनीकरण गर्नु हो । भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्दा पालना गर्नुपर्ने मूल्य सदाचार, जवाफदेहिता, न्याय जस्ता हुन् । यसको मुख्य उद्देश्य यसविरुद्ध लड्न प्रोत्साहन गर्नु र भ्रष्टाचारलाई न्यूनीकरण गर्दै जानु हो । भ्रष्टाचारविरुद्ध रणनीतिले ज्ञान व्यवस्थापन गर्न, सदाचार प्रवर्धन गर्न र भ्रष्टाचार विरोधी सिद्धान्त प्रवर्धन गर्न स्थानीय, राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी अनुभवलाई समृद्ध बनाउन मद्दत गर्छ । यसबिचमा हामी सञ्चार रणनीति कार्यान्वयन, विश्वव्यापी प्रवृत्ति अनुगमन, रणनीतिक साझेदारी बनाउन र बहुल तथा विविध सरोकारवाला मुख्यतः नागरिक र जनतामा पहुँच पु¥याउन सक्छौँ । भ्रष्टाचारविरुद्धको रणनीतिले अन्तरसम्बन्धित सरोकारवालासँग बहुआयामिक दृष्टिकोणबाट यसलाई रोक्छ, निको पार्छ र रोकथाम पनि गर्छ । साथै स्वायत्तता, मूल्याङ्कन र समीक्षा, सञ्जाल, सहकार्य, भ्रष्टाचार विरोधी समाधानका उपाय र औजार, मिडिया पैरवी (नागरिक भावना र संवेदनशीलता), पर्याप्त स्रोतको उपलब्धता र सरकारको परिवर्तनले परिचालन क्षमता, ज्ञानसम्बन्धी सिप, आन्तरिकीकरण र यसको अनिवार्यताको कार्यान्वयन र सुदृढीकरणलाई पनि यसले उजागर गर्दछ । 

शासनको वैधता र गुणस्तर कायम राख्न भ्रष्टाचारको निदान गर्ने प्राथमिक एजेन्डा नै निरन्तर त्यसविरुद्ध संलग्न हुनु हो । भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुता भनेको बयानबाजी होइन । यो हाम्रो संस्कृति बन्न सक्नु पर्छ । यस मामिलामा राज्य र समाजमा हाम्रो यात्रा निरन्तर हुनु पर्छ । सार्वजनिक मामिला र सार्वजनिक क्षेत्रका हरेक तहमा भ्रष्टाचार र दुराचारको जाँचबुझ र नियन्त्रण गर्न सधैँ जागरुक हुनु पर्छ । 

कम्तीमा बलियो राजनीतिक र प्रशासनिक इच्छाशक्ति तथा नागरिक समाज र बुद्धिजीवीको पूर्ण निगरानी र आलोचनाले भ्रष्टाचारको जालोलाई नियन्त्रण गर्न सकिन्छ भन्ने आशा गर्न सक्छौँ । भ्रष्टाचार विरोधी अभियान प्रतिबद्धता, प्रतिज्ञा, अभ्यासको दायरा र तीव्रतामा आधारित हुन्छ । त्यसैले यसलाई अनुसरण गर्दै एक सच्चा नागरिकले ‘भ्रष्टाचार कदापि गर्नुहुन्न’ भन्ने अडान लिनु पर्छ ।