• ३० असोज २०८१, बुधबार

डडेलधुरामा बस दुर्घटना: चार जनाको मृत्यु, १२ घाइते

blog

दुर्घटनामा परेको बस । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी
डडेल्धुरा, असोज ३० गते । महाकाली राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका ७ कस्या नजिक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

मङ्गलबार राति कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडी जाँदै गरेको ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको हो ।  

यसैगरी, घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नं. ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेलधुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीया विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीया धनमति साउँद, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नं.७ का २८ वर्षीय नवराज रतोकी, २० वर्षीय सुरेन्द्र रतोकी, वडा नं. १० का दामोदर महरा र धनबहादुर महरा रहेका छन् । गम्भीर घाइते भएका बस चालक बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार अन्य घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते तथा मृतकहरूको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।