• १० मंसिर २०८१, सोमबार

डाइभर्सन बने पनि बिपी राजमार्गको यात्रा कष्टकर

blog

बनेपा समाचारदाता

बनेपा, असोज ३० गते । बाढीपहिरोका कारण क्षतिग्रस्त रहेको बिपी राजमार्गमा यातायात सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर नै छ । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण असोज १२ गते बिहानदेखि मध्य तथा पूर्वी तराईका जिल्ला जोड्ने छोटो राजमार्गका रूपमा रहेको बिपी राजमार्ग क्षतिग्रस्त भई यातायात आवागमन ठप्प भएको थियो । 

बाढीपहिरोका कारण अवरुद्ध राजमार्गमा यातायात सञ्चालन गर्न डिभिजन सडक कार्यालय भक्तपुरले काभ्रेपलाञ्चोकतर्फ चौकीडाँडा र सिन्धुलीतर्फ डिभिजन सडक कार्यालय जनकपुरको सहयोगमा नेपालथोकतर्फबाट सडक डाइभर्सनको काम गरेको छ । दुवैतर्फबाट डाइभर्सनको काममा तीव्रता दिएसँगै गत शुक्रबारदेखि राजमार्गमा यातायात सञ्चालन भएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो । “दसैँमा घर जाने र आउने यात्रुको सहजताका लागि हामीले क्षतिग्रस्त भएको बिपी राजमार्ग यातायात सञ्चालन गर्न सडक सञ्जाल जोड्नुपर्ने बाध्यता थियो, दसैँअघि ट्र्याक जोडिएको छ तर सडकको सतह नमिलेका कारण सवारीसाधनलाई राम्रोसँग चल्न भने समस्या नै देखिएको छ,” सिडिई योगेशले भन्नुभयो । उहाँले बाढीले क्षतिग्रस्त बनाएको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण केही समस्या भएकाले मोड सुधारसमेत गरिएको बताउनुभयो । 

“सडक डाइभर्सन गरेर यातायात सञ्चालन गरिए पनि भ्याकुरे खोला र माम्ती खोलामा माथिबाट ढुङ्गा माटो आउने सम्भावना भएकाले उक्त क्षेत्रमा यातायात सञ्चालनमा समस्या भएकाले उक्त दुई स्थानमा ह्युमपाइप राख्नुपर्ने अवस्था छ, अहिले दसैँ मानेर फर्कने यात्रुको चाप भएकाले रातको समयमा सडक बन्द गरेर ह्युमपाइप राख्ने काम गर्ने छौँ,” सिडिई योगेशले थप्नुभयो । उहाँले सडकमा दसैँ मानेर फर्कने सवारीसाधनको चाप कम भएसँगै अबको चार÷पाँच दिनपछि सडक सतहको सुधार गर्ने, सडकको ग्रेडिङ मिलाउने र सडकमा रोलरले ढुङ्गा थिच्ने काम सुरु गरिने बताउनुभयो । 

डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपहिरोबाट क्षति भएको राजमार्गको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म एकतर्फी बाटो सञ्चालन गरेको हो । गत शुक्रबारबाट साना सवारी सञ्चालन भएको राजमार्गमा हालका लागि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ भने मङ्गलबारदेखि सडक इजाजत लिई सञ्चालनमा रहेका विभिन्न यातायात सेवा समितिका यात्रुवाहक बससमेत सञ्चालन भएका छन् । 

कार्यालयले बाढीपहिरोका कारण क्षति भएको राजमार्गमा तत्काल दुईतर्फी सवारी सञ्चालन गर्न समस्या हुने जनाउँदै ठाउँ ठाउँमा पार्किङस्थल बनाइने जनाएको छ । रोसी गाउँपालिकाका पूर्वअध्यक्ष दलबहादुर मोक्तान तामाङले बाढीपहिरोबाट क्षतिग्रस्त भएको बिपी राजमार्गमा सवारीसाधन सञ्चालनमा समस्या रहेको बताउनुभयो । “राजमार्ग डाइभर्सन गरेर यातायात सञ्चालन गरिए पनि सडकको सतह नमिल्दा साना सवारी ठोक्किने तथा खाली सवारीसाधन बिचमै रोकिएर ठेल्नुपर्ने पर्ने अवस्था छ,” उहाँले भन्नुभयो । उहाँले बाढीपहिरो तथा वर्षाका कारण कमजोर भएको जमिन भएकाले सवारीसाधन चल्दा जमिन थर्किएर सुक्खा पहिरो गई थप क्षति हुने हो कि भन्ने डर कायमै रहेको बताउनुभयो । उहाँले तत्कालका लागि सवारीसाधन सञ्चालन भए पनि यात्रा जोखिमपूर्ण र कष्टकर रहेको बताउनुभयो । 

बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि काभ्रेपलाञ्चोकको सीमा क्षेत्र बर्खेखोलासम्म १४ स्थानमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ ।