• १८ पुस २०८१, बिहिबार

एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान

blog

सिराज खान 

नेपालगन्ज, असोज ३० गते । बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले विगत तीन वर्षदेखि बाँकेमा धान जोन परियोजना लागु गरी धान खेती प्रवर्धनमा सहयोग गर्दै आएको छ । सो परियोजना अन्तर्गत यस वर्ष एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको हो ।

बाँकेको जानकी, खजुरा र बैजनाथ गाउँपालिकाका ११ वटा वडामा परियोजनाले धान खेतीका लागि सिँचाइ, कृषि यान्त्रिकीकरण, बिउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । परियोजना अन्तर्गत जानकी गाउँपालिकाको वडा नं. १, २, ३ र ४; खजुरा गाउँपालिकाको २ र ४, बैजनाथ गाउँपालिकाको २, ३ र ४ गरी ११ वटा वडामा कार्यव्रmम लागु गरिएको छ । यस अन्तर्गत दुई हजार ३४१ हेक्टर क्षेत्रफलमा धान खेती प्रवर्धन कार्यव्रmम लागु गरिएको छ । 

चालु आर्थिक वर्षको यो धान सिजनमा करिब एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताउनुभयो । उहाँका अनुसार परियोजनाले समेटेको कार्यक्षेत्र अन्तर्गत ८१४ जना कृषक तथा समूह र सहकारी यो योजनामा जोडिएका छन् । बाँकेमा परियोजना अन्तर्गत चालु आव २०८१/८२ बाट तरकारी जोनको कार्यव्रmम पनि सञ्चालन गरिँदै छ । यस अन्तर्गत करिब पाँच सय हेक्टर तरकारी खेतीमा सहयोग गरिने परियोजनाका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो ।