• ३० असोज २०८१, बुधबार

तास खेलिरहेका १२ जना पाँच लाख नगदसहित पक्राउ

blog

सांकेतिक तस्बिर

बिष्णुप्रसाद पोखरेल

दमक, असोज २९ गते। झापाको एक होटलमा तास खेलाइरहेको सूचनाको आधारमा प्रहरीले पाँच लाख नगदसहित १२ जनालाई पक्राउ गरेको छ। 

सोमबार साँझ शिवसताक्षी नगरपालिका–९ दुधेमा रहेको विनोद खरेलको घरमा सञ्चालित सगरमाथा होटेलमा तास खेलाइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय दमकको संयुक्त प्रहरी टोलीले छापा मारेर नगद पाँच लाख चार हजार ३० रुपियाँसहित १२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले तास खेल्ने शिवसताक्षी– ६ का ५० वर्षीय मिलन भण्डारी, सोही वडाका ४२ वर्षीय नवीन तिम्सिना, शिवसताक्षी ९ का ३९ वर्षीय विनोद खरेल, सोही वडाका ४७ वर्षीय दीपक तामाङ र ३९ वर्षीय प्रकाश लिम्बूलाई पक्राउ गरेको हो। 

यसैगरी, ३७ वर्षीय भीमबहादुर भण्डारी, ४१ वर्षीय दिनेश बाह्रकोटी, ४१ वर्षीय खगेन्द्र उप्रेती, २० वर्षीय सौगात मैनाली, शिवसताक्षी ११ का ३२ वर्षीय नरेन्द्र विश्वकर्मा, सोही वडाका ३६ वर्षीय लोकबहादुर विश्वकर्मा र भारत कोलकाताका ४१ वर्षीय परितोष पललाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार उनीहरूलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान अगाडि बढाइएको छ।