• १० मंसिर २०८१, सोमबार

मेची-महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार

blog

पूर्वको मेची पुलमा शान्तिको दीप प्रज्वलनसहित हिजोदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा । तस्बिर सौजन्य : मानव सेवा आश्रम

झापा, असोज २८ गते । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ। यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ।

जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । 

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो । 

‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ। 

मानव सेवा आश्रमले सातै प्रदेशका १९ जिल्लामा २५ सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार, उपचार, संरक्षण तथा पारिवारिक पुनर्मिलन गराउँदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

 “यसअघिका मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा एक हजारभन्दा बढी व्यक्तिको उद्धार गरिएको थियो”, उहाँले भन्नुभयो । रासस