• २८ असोज २०८१, सोमबार

आफ्नै ठाउँमा स्वरोजगार बन्दै युवा

blog

ग्रीलसम्बन्धी काम गर्दै नेपालगन्ज १५ जमुनाहका २५ वर्षीय युवा रिजवान अहमद बागवान । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, असोज २८ गते । पछिल्लो समयमा देशमा केही काम छैन भनेर दैनिक सयौँको संख्यामा युवाहरु रोजगारी खोज्न विदेश जाने गरिरहँदा नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहका २५ वर्षीय युवा रिजवान अहमद बागवान भने नेपालगन्जमै ग्रीलसम्बन्धी काम गरेर स्वरोजगार बनिरहनुभएको छ । 

उहाँ विगत पाँच वर्षदेखि ग्रील उद्योग सञ्चालन गरेर स्वरोजगारी बन्दै आउनुभएको हो । यसैको कमाइबाट घरपरिवारको खर्चसमेत चलाउँदै आएको उहाँको भनाइ छ । उहाँले विगत पाँच वर्षदेखि नेपालगन्ज १५ जमुनाहमा ‘अली ग्रील उद्योग’ सञ्चालन गर्दै आउनुभएको छ । 

“मेरा धेरै साथीहरु विदेश गएका छन्, दुःख पाएका छन । कसै कसैको मात्र केही राम्रो भएको देखेको छु, नत्र धेरैले दुःख पाएको सुनेको छु ।” बागवानले भन्नुभयो, “मलाई पनि विदेश जाउँ, रुपियाँ कमाउँ भन्ने धेरै साथीहरु थिए, तर मलाई कहिले पनि विदेश जान मन लागेन । आफ्नै देशमा केही गर्छु भनेर सानैदेखि सोच थियो, देशमै स्वरोजगारी गर्छु भनेर यो पेशा अपनाएँ ।”

बागवानले देशमा केही काम छैन भनेर यहाँ केही गर्ने सोच नै नगरी युवाहरु विदेश जाने काम गलत भएको बताउनुभयो । “विदेश जाने युवाहरुले हाम्रो देशमा काम गर्नुहुन्न, गर्ने सोचैँ राख्नुहुन्न । उहाँहरुको सोच विदेश नै जाने हुन्छ, तर त्यहाँ भनेजस्तो हुँदैन, धेरैले दुःख पाउनुहुन्छ । ऋण खोजेर लगेको पैसा पनि डुब्ने सम्भावना हुन्छ । पछिसम्म सन्तानले दुःख पाउँछन् ।”

“जे काम गर्न पनि दुःख हुन्छ, यहीँ केही न केही इलम गरे रुपियाँ कमाउन सकिन्छ, मैले बिगत पाँच वर्षदेखि ग्रीलको काम गरिरहेको छु । सुरुको दुई वर्षसम्म अति नै कष्ट भयो, अरुकोमा काम सिकेर बसेँ, यही कामका लागि केही महिना सुर्खेतसम्म पनि पुगेँ” उहाँले भन्नुभयो, “अहिले आफ्नै पेशा छ, दुई तीन जनालाई रोजगारीसमेत दिएको छु, सबै खर्च कटाएर मासिक ४०–५० हजार रुपियाँ आम्दानी गरिरहेको छु ।”

नेपालमा सानो काम नगर्ने, दुःख नगर्ने, सीप नसिक्ने अनि विदेश जाने गर्दा धेरै दुःख कष्ट झेल्नुपरेको आफूले देखेको उहाँले बताउनुभयो । आफ्नो युवाअवस्थामा जति विदेशमा बिताउनुपर्ने, विदेशमै पसिना बगाउनुपर्ने भनेजस्तो रुपियाँ पनि कमाउन नसकिने र परिवारसँग पनि दिन बिताउन नपाउनुभन्दा नेपालमै सानातिना कामहरु गरेर आम्दानी गर्न सकिने उहाँको सुझाव छ ।

“काम ठूलो सानो हुँदैन, मुख्य भनेको इच्छाशक्ति हो, अहिले त सरकारले पनि हामीजस्ता युवाहरुलाई विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ । आफूले चाहेको क्षेत्रमा सीप सिक्नुपर्छ । सीप सिकेर सम्बन्धित क्षेत्रमा पेशा व्यवसाय गर्दा सरकारले पनि आवश्यक सहयोग गर्छ” बागवानले भन्नुभयो ।

नेपाली युवाहरुले देशमै बसेर सीप सिकेपछि यहीँ केही न केही काम गरेर आफ्नै ठाउँमा विभिन्न किसिमका पेशा व्यवसाय गर्न सकिने उहाँको भनाइ छ । आफ्नो परिवारसँगै बस्न पाइने र रुपियाँ कमाउन सकिने बागवानले बताउनुभयो । सीपविना विदेश गएर भौँतारिनुभन्दा सीप सिकेर स्वदेशमै प्रशस्त काम रहेको उहाँले सुझाव दिनुभयो ।