• २८ असोज २०८१, सोमबार

१४ वर्षीया किशोरीको हत्या

blog

नाबालिका किशोरीको हत्या आरोपी टेक भण्डारीलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिरः पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, असोज २८ गते । जिल्ला सदरमुकामको अमरगढी नगरपालिका ७ पोखरा बजारमा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ । 

भाटागाउँकी की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् । 

घटनास्थल निज टेकबहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल रहेको छ, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन् ।

डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन । स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदैआएका छन् । डिएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने बताउनुभयो । ‘जवरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्विकार गरेपछि आवेशमा आएको पनि हुनसक्छ, तर त्यो अहिले नै केही खुलेको छैन, उहाँले भन्नुभयो ।

१४ वर्षीया किशोरी भट्टराई २५ गते ४ बजे घरबाट पिठो पिस्न मिलका लागि हिडेकी थिइन् । ‘स्थानीय रहेका भण्डारीसँग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि नै थियो, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्र किशोरीको हत्या गरेको हुनसक्छ । हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको थिए ।’

भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारीले फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ । ‘मदिरा सेवन गरेर पोखरा फर्किएका उनले पसल भित्र राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेका थिए । डिएसपी श्रेष्ठले भन्नुभयो, ‘शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेका रहेछन् । शव बजार छेउमै फालेर घर गएका रहेछन् ।’

उक्त ठाउँमा मृत किशोरी फेला परेको भन्दै प्रहरीलाई राति ११ बजे खबर भएको थियो । भण्डारीलाई बिहान ३ बजे प्रहरीले घरबाट नियन्त्रणमा लिएको थियो ।