• २८ असोज २०८१, सोमबार

जिउँदो खसीबोकाको निर्यात बढ्यो

blog

खसीबोका बिक्री गर्दै किसान । तस्बिरः रेखीराम राना

रेखीराम राना

तानसेन, असोज २८ गते । जिल्लाको विभिन्न स्थानबाट मासुका लागि जिल्लाबाहिर जिउँदो खसीबोकाको निर्यात बढेको छ । पाल्पाको पूर्वखोला, रम्भा, निस्दी, माथागढी, तानसेन, तिनाउ रैनादेवीछहरा र रिव्दीकोट, रामपुरबाट दसैँअघि मासुका लागि खसीबोका निर्यात हुनेगरेका छन् । 

जिल्लाभरिबाट गतवर्ष १९ करोड बढी मूल्य पर्ने खसीबोका निर्यात भएको थियो । यो वर्ष चाडपर्वमा मात्र नौँ करोड बढीको खसीबोका निकासी भएको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाल्पाले जनाएको छ । 

चाडपर्वको समयमा सबैभन्दा धेरै खसीबोका निर्यात हुनेगरेको केन्द्रले जनाएको छ । गएको वर्ष पाल्पाका विभिन्न स्थानबाट १९ करोड बढी मूल्य पर्ने खसीबोका पोखरा, बुटवल, नारायणघाट, स्याङ्जा, तनहुँलगायतका स्थानमा निर्यात भएको थियो । यो वर्ष कृषि सहकारी संस्थाबाट मात्र छ करोड बढीको जिउँदो खसीबोका निर्यात भएको छ । 

अन्य व्यक्तिगत फर्म तथा समूहबाट तीन करोड बढीको खसीबोका निर्यात भएको बताइएको छ । पछिल्लो केहीँ दिनयता दसैँ र तिहार पर्वका लागि भनेर जिउँदो खसीबोका निर्यात हुने गरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो । 

व्यावसायिक रुपमा खसीबोका पाल्ने किसानको सङ्ख्या बढेपछि खसीबोकाको मासु उत्पादन हरेक वर्ष बढेको उहाँले बताउनुभयो । उहाँका अनुसार जिल्लाका लागि आवश्यकभन्दा बढी मासु पाल्पामा उत्पादन भएको छ । जिल्लाभित्र खसीबोकाको मासु खपत कम हुने भएकाले बाहिरी जिल्लामा निर्यात बढेको उहाँले बताउनुभयो । 

ग्रामीण भेगमा स्थापित भएका स्थानीय सहकारी संस्था, विभिन्न महिला समूह, ठूला पशु फर्मसँगको सम्पर्कमा जिउँदो खसीबोका लिनका लागि बाहिरी जिल्लाबाट व्यापारीहरू आउने गरेका छन् । 

यहाँका किसानले जिउँदो खसीबोकालाई प्रतिकिलो ५०० रुपियाँदेखि ७०० रुपियाँसम्ममा बिक्री गरेका पूर्वखोला जल्पास्थित शुभसन्देश महिला कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्रीसरा रखालले बताउनुभयो । 

पाल्पामा हरेक वर्ष खसीबोकाको निर्यात गर्ने सहकारीको सङ्ख्या बढेको छ । पछिल्लो समय झण्डै २० वटा सहकारी संस्थाले खसीबोकाको बिक्री गर्दैआएका छन् । पछिल्लो तीन वर्षयता स्थानीय तह र प्रदेश सरकारले खसीबोका उत्पादनका लागि लगानी गरेका छन् ।