• २८ असोज २०८१, सोमबार

दशकदेखि कुकुर स्याहार्दै क्षेत्री परिवार

blog

कुकुर स्याहार्दै स्मिता क्षेत्री । तस्विरः एकिन्द्र तिमिल्सिना

एकिन्द्र तिमिल्सेना  

टीकापुर, असोज २८ गते । टीकापुर नगरपालिका–६ लक्षिनापुरका गणेश क्षेत्रीको परिवार एक दशकदेखि कुकुरहरुको सेवामा लागेको छ । क्षेत्रीले घरमा १२ वटा कुकुरलाई स्याहार्नु  भएको छ । नजिकको सत्ती, नारायणपुर बजारमा १८ वटा जति कुकुरलाई खाना खुवाउँदै आउनुभएको छ । 

घरका कुकुरलाई भात पकाएर खुवाउनुहुन्छ भने बजारका कुकुरलाई बिस्कुट खुवाउनु हुन्छ । घरमा क्षेत्रीकी श्रीमती स्मिताले खाना पकाएर खुवाउने गर्नुभएको छ । ‘दश वर्षअघि बजारमा खाजा खाइरहेको बेला नजिकैको कुकुरले मैले हात तल गर्दा तल मुखतिर लिँदा मुखमा हेर्दो रहेछ, छोराले मलाई आफू खाइरहनुभएको छ कुकुरले हेरिरहेको छ, त्यसलाई दिन सक्नुहुन्न भनेपछि बिस्कुट खान दिएँ’ क्षेत्रीले भन्नुभयो ।

‘केही दिनपछि एउटा चोट लागेर बिरामी भएको कुकुर भेटाएँ, त्यसलाई उपचार गराउँदा सञ्चो भयो । माया दिएँ माया गर्न थाल्यो । त्यसयता घरमा आएका सबै कुकुर घरैमा छन्’ उहाँले भन्नुभयो ।

क्षेत्रीका अनुसार घरमा भात पकाउने चामल र बजारमा कुकुरलाई खुवाउन दैनिक ३०० जति खर्च हुन्छ । हालसम्म केही साथीहरुले २० हजार जति सहयोग पनि दिएको उहाँले बताउनुभयो । बाँकी छोरा र श्रीमती स्मिता क्षेत्रीको ममताले कुकुरले स्याहार पाएको क्षेत्रीको भनाइ छ ।

कुकुर र गाई हिन्दूहरुले पूजा गर्ने जनावर हुन् । तर दुवै जनावरको अपहेलना छ क्षेत्री भन्नुहुन्छ ‘भेटिएका घाइतेलाई सकेसम्म उपचार गराउँछु, धनी होसकि गरिब कुकुरले सबैलाई बराबर माया गर्छ ।’

छिमेकी महेश श्रीवास्तव क्षेत्रीको व्यवहार देखेर यहाँ कुकुर प्रेमीहरुको सङख्या बढेको बताउनुहुन्छ । हामीलाई एउटै कुकुर स्याहार्न कठीन छ, क्षेत्रीले सामुदायिक कुकुरलाई भोकै मर्न दिनु भएको छैन्, श्रीवास्तवले भन्नुभयो, ‘क्षेत्रीको नारायणपुरमा कपडा पसल पनि थियो, दुई महिनाअघि आगो लागेर नष्ट भयो । पसल त ध्वस्तै छ कुकुरलाई बिस्कुट खुवाउन छुटेको छैन ।’

पशु सेवा शाखा टीकापुरका पशु विकास अधिकृत श्यामराज पाण्डे आफूले क्षेत्रीलाई पशु अधिकारकर्मीका रुपमा सम्मान प्रकट गर्ने गरेको बताउनुहुन्छ । पशुको भावना बुझेर स्याहार गर्ने क्षेत्रीले कयौं पटक पशु सेवा केन्द्रमा उपचार सहयोग माग्नु हुन्छ, गाई र कुकुरको उपचार गरेका छौँ, भन्नुभयो । क्षेत्रीले सीठी बजाएपछि ५५ वटा कुकुर जम्मा भएको देखेर छक्क परेको छु, रेविज सप्ताहमा खोप लगाउन नारायणपुरजाँदा सबैलाई खोप लगाउन पनि सजिलो भयो ।