• १३ पुस २०८१, शनिबार

पर्वतारोहीको शव ल्याउन समस्या

blog

धौलागिरि हिमालको आधारशिविर । फाइल तस्बिर ।

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, असोज २७ गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीमा पर्ने ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रममा गत मंगलबार ज्यान गुमाएका पाँच जना रुसी आरोहीको शव अझै उठाउन सकिएको छैन । 

प्रतिकुल मौसमका कारण उद्धार गरी शव ल्याउन समस्या भएको जनाइएको छ । आरोहीहरूको शव करिब ७ सात हजार एकसय मिटरको उचाइमा ७ दिन दिन देखि अलपत्र छ । 

असोज २० गते धौलागिरि प्रथम हिमाल आरोहणका क्रममा करिब ७ हजार सातसय मिटर उचाइबाट खसेर आरोहीहरूको मृत्यु भएको प्रहरीको भनाइ छ । आरोहणमा गएका अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोई करिब ७ हजार एकसय मिटर उचाइमा गत मंगलबार मृत फेला परेका थिए । 

प्रतिकुल मौसम र कठिन भूगोलका कारण मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव ल्याउन समस्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘दसैँअघि बुधबार हेलिकोप्टरमा गएको शेर्पा सहितको टोलीले  घटनास्थलको निरीक्षण गर्नुका साथै शव उठाउन कोसिस गरे पनि प्रतिकुल मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भयो । दसैँ पनि सकिएकाले अव शव ल्याउनका लागि आवश्यक पहल होला ।’’ 

प्रतिकुल मौसमका कारण हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा शव भेटिएकाले ल्याउन समस्या भएको उहाँको भनाइ छ । आधार शिविरको ‘हाइक्याम्प’मा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार सातसय मिटरको उचाइबाट गत आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

आइ एम ट्रेकीङ एण्ड एक्सपीडिसन मार्फत १४ जना रुसका पुरुष पर्वतारोहीहरू धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । नौ जना पर्वतारोहीहरूले बिचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

पर्यटन विभागका अनुसार चालु शरदयाममा रुसका १४ जनाले धौलागिरि आरोहणको अनुमति लिएका थिए ।