• २६ असोज २०८१, शनिबार

संस्कृतिले देश एकताबद्ध बनाउन सहयोग गरेको छ

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ।

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २६ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालको सांस्कृतिक पर्वले देशलाई एकताबद्ध बनाउन सहयोग गरेको बताउनुभएको छ । 

बडादसैँ लगायतका पर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले नेपाल संस्कृतिमा अत्यन्त धनी रहेको बताउनुभएको छ । ‘नेपालका मौलिक सांस्कृतिक पर्वहरूले नै नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेका छन्, वीर नेपालीको भूमिकाको रूपमा परिचित नेपाललाई सांस्कृतिक रूपमा सम्पन्न राष्ट्रका रूपमा बुझ्ने गर्दछौँ’, उहाँले भन्नुभयो ।

पछिल्ला दिनहरूमा नेपालको मौलिक संस्कृति माथि विभिन्न कोणबाट प्रहार गर्ने प्रयास भएको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभएको छ । नेपालको संस्कृति मूल्य र मान्यताको विगठन हुनेक्रम बढेको उहाँले बताउनुभयो । ‘चाड पर्वका माध्यमबाट हामीले हाम्रो संस्कृतिलाई मजबुत बनाउनु पर्दछ’ पोखरेलले भन्नुभयो । 

समाजमा रहेका विकारलाई अन्त्य गरेर मुलुकलाई सभ्य, समृद्ध र विकसित राष्ट्र बनाउनुपर्नेमा पोखरेलले जोड दिनुभयो । राजनीतिक परिवर्तन पछाडि मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउनु पर्ने बेलामा नेपालको राजनीति अलमलिएको अवस्थामा रहेको उहाँको धारणा छ ।  ‘राजनीति अस्थिरता चुनौती बनिरहेको छ, राजनीतिमा पनि शक्तिलाई सुदृढ गर्नुपर्ने, बलिया शक्तिका माध्यमबाट शासन व्यवस्था अगाडि बढाउनु पर्ने आवश्यकता छ’, उहाँले भन्नुभयो । 

राष्ट्रिय राजनीतिमा बलिया राजनीतिक शक्तिलाई स्थापित गर्ने अठोट गर्नु आजको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो । हाम्रा सांस्कृतिक पर्व यही अठोटका साथ मनाउनु पर्नेमा पोखरेलले जोड दिनुभयो ।