• २६ असोज २०८१, शनिबार

आरन व्यवसायले सहज बनायो जीविकोपार्जन

blog

बाजुराको बुढीगङ्गा नगरपालिका–४ बाँनेगाउँका पदम लुहारले बिक्रीका लागि आरनमा राखेका हँसियासहित सामग्री । तस्बिरः शेर बहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असोज २६ गते । बाजुराको बुढीगङ्गा नगरपालिका–४ बानेगाउँका स्थानीय पदम लुहारले गाउँमै सञ्चालन गरेको आरन व्यवसायले जीविकोपार्जन सहज बनाउनुभएको छ ।

पहिला रोजगारीका लागि भारतका विभिन्न ठाउँमा जाने गरेका लुहारले गाउँमा आरन व्यवसाय सरु गरेर राम्रो कमाई गर्न थालेपछि अहिले उहाँलाई त्यो आरन व्यवसायले जीविकोर्पाजन सहज बनाएको हो ।

भारतको नौकरी गर्न छाडेर अहिले गाउँ नजिकको बाम्का बजारमा आरन व्यवसाय सुरु गरेपछि मलाई यसले जीविकोपार्जनमा निकै सहज भएको बुढीगङ्गा नगरपालिका–४ निवासी लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो आरनमा मैले अहिले यहाँका स्थानीयलाई दैनिक आवश्यक पर्ने आँसी, बाउसा, कुटा, पाला, खुडा, दाउँ, बासुला, खुकुरीलगायतका स्थानीय स्तरमा चाहिने औजार बनाउँछु । यी धमाधम बिक्री हुनेगरेका छन् । ”

पहिला मलाई लामो समयसम्म भारतमा नौकरी गरेर घरखर्च धान्न मुस्किल हुन्थ्यो । अहिले गाउँमै सञ्चालन गरेको यो आरन व्यवसायले भने मलाई जीविकोपार्जन गर्नमा सहज भएको लुहारले बताउनुभयो ।

दुई छोरी र एक छोरा गाउँ नजिकको भानोदय माविमा पढ्छन् । अर्को छोरा उच्च शिक्षाका लागि काठमाडौँ पढ्छन् । घरपरिवार पनि सुखका शान्तिका साथमा रमाएको लुहारको भनाइ छ ।  

आफ्ना पुस्ताले गर्दैआएको व्यवसायलाई अहिलेको नयाँ पुस्ताले खासै चासो नदेखाउँदा यहाँका अधिकांश स्थानीयले नौकरी गर्न भारत जानु परेको छ । पहिला गाउँमा सञ्चालन हुनेगरेका आरन व्यवसाय हातको साहाराले मात्र हुने गरेका थिए । अहिले अधिकांश आरन व्यवसायहरु विद्युतबाट सञ्चालन हुने गर्दछन् । 

फलाम काट्ने, पिट्ने र ओल्डीङ्ग गर्ने मसँग मेसिन छैन । त्यो मेसिन भएको भए मलाई आरन व्यवसाय गर्नमा थप सहज हुन्थ्यो । यो मेसिन खर्चिलो हुन्छ, आफुले यो किन्न सकिदैन्, मेसिन किन्नका लागि मैले स्थानीय सरकारसँग धेरे पटक माग राखे तर पनि सुनुवाइ भएन, उहाँले भन्नुभयो । 

स्थानीय सरकारले हामीजस्तो गरिखानेलाई सहयोग गर्नुको साथै उल्टै करोडौँ रुपियाँ सडकमा खर्च गर्ने र आ–आफ्ना राजनीतिक कार्यकर्ता पाल्ने गरेको लुहराले बताउनुभयो ।

आधुनिक आरन व्यवसाय सञ्चालन गर्न सीप सिकाइका लागि तालिमको व्यवस्था गरिदिए थप सहज हुने यहाँका आरन व्यवसायी बताउँछन् । गाउँमा पुस्तौदेखि सञ्चालन गर्दैआएको यो आरन व्यवसायमा अहिलेको स्थानीय सरकारले आर्थिक सहयोग गर्ने हो भने यहाँका अधिकांश बेरोजगार युवालाई रोजगकारीका लागि भारतमा जानु नपर्ने खप्तड छेडेदह गाउँपालिका–५ का स्थानीय पुष्पराज सुनारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला आरनमा हातले सामग्री बनाउनुपथ्र्यो । त्यसमा विद्यतुको आवश्यक हुँदैन थियो । अहिलेका आरन व्यवसाय विद्युतबाट सुरु भएको छ ।” यसका लागि फलाम पिट्ने र ओल्डिङ गर्नेजस्ता ठुला मेसिन खरिद गर्नुपर्ने हुन्छ । आफुसँग त्यो समान ल्याउन पैसा नभएपछि आरन व्यवसाय गर्न समस्या हुनेगरेको सुनारले बताउनुभयो ।

यता गाउँमै केही गरिखानेका लागि स्थानीय सरकारले विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्दैआएको बुढीगङ्गा नगरपालिका–४ का वडा अध्यक्ष मीनबहादुर शाहले बताउनुभयो । 

बाजुराको हिमाली स्वामिकार्तिक जगन्नाथ बुढीनन्दा गौमुल बडिमालिका बुढीगंगा त्रिवेणी र खप्तड छेडेदहलगायतका स्थानीयले गाउँमा खलोको भरमा मात्र सुरु गरेका आरनलाई पछिल्लो समय भने यसलाई व्यवसायको रुपमा लिन थालेका छन् ।