• २६ असोज २०८१, शनिबार

गाजामा पोलियो खोपको दोस्रो चरण ‘अझ जटिल’-राष्ट्रसङ्घ

blog

जेनेभा,  असोज २६ गते । संयुक्त राष्ट्रसङ्घले शुक्रबार युद्धग्रस्त गाजामा लाखौँ बालबालिकालाई पोलियो खोपको आवश्यक दोस्रो मात्रा दिन आगामी साता सुरु हुने अभियान पहिलो चरणभन्दा ‘अझ जटिल’ हुने बताएको छ । 

राष्ट्रसङ्घको स्वास्थ्य र बालबालिकासम्बन्धी एजेन्सीहरूले सोमबारदेखि गाजाभर १० वर्षमुनिका करिब पाँच लाख ९१ हजार सात सय बालबालिकालाई फलो–अप मात्राहरू प्रदान सुरु गर्न तयारी गरिरहेको बताएका छन् । 

यो सेप्टेम्बर १ देखि १२ सम्म कार्यान्वयन गरिएको पहिलो खोप चरणको अनुसरण हो । यसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को प्यालेस्टिनी क्षेत्रका प्रतिनिधि रिक पिपरकोर्नले शुक्रबार ‘एउटा विशाल उपलब्धि’ भनेर प्रशंसा गर्नुभयो । 

घेराबन्दीमा परेको गाजा पट्टीमा २५ वर्षमा पहिलो पटक पुष्टि भएको पोलियो केस रिपोर्ट गरिएपछि खोप अभियान सुरु भएको थियो । 

अघिल्लो चरणजस्तै आगामी अभियान तीन चरणमा हुनेछ । यसमा लडाइँमा स्थानीयकृत ‘मानवीय विराम’ को सहयोग लिएर पहिला मध्य गाजामा, त्यसपछि दक्षिणमा र अन्तिममा क्षेत्रको पहुँच गर्न सबैभन्दा कठिन उत्तरी भागमा खोप प्रदान गरिनेछ । 

जेरुसेलमबाट भिडियो लिङ्कमार्फत बोल्दै पिपरकोर्नले पत्रकारहरूलाई अभियानको दोस्रो चरण सुरु गर्न तयार सयौँ टोलीहरूप्रति आफूलाई ‘विश्वास’ भएको बताउनुभयो । 

यद्यपि उहाँले ‘उत्तरमा भएका घटनाक्रमबाट चिन्तित’ रहेको स्वीकार गर्नुभयो । त्यहाँ इजरायलले आफ्नो कारबाही नाटकीय रूपमा बढाएको छ र खाली गर्ने आदेशहरूको शृङ्खला जारी गरेको छ । 

“हामी चिन्तित छौँ”, युनिसेफका जिन गफले जेरुसेलमबाटै भन्नुभयो, “जमिनमा अवस्थाहरू यसपटक वास्तवमै अझ जटिल छन् ।” उहाँले पोलियो फैलिन नदिन कम्तीमा ९० प्रतिशत बालबालिकालाई पूर्ण खोप दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । 

“उत्तरमा स्थानीयकृत मानवीय विरामहरूको सम्मान गर्न मात्र नभई मानिसहरूलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा जान बाध्य नपारिनु पनि पूर्ण रूपमा महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो । 

राष्ट्रसङ्घले इजरायली अधिकारीहरूसँग धेरै बैठक गरेको र इजरायली सरकारी एजेन्सी कोगाटबाट मानवीय विरामहरू कार्यान्वयन गरिने पुष्टि प्राप्त भएको गफले बताउनुभयो । “यो अघिल्लो चरणमा काम गरेको थियो र यसले फेरि काम गर्नेमा हामी विश्वस्त छौँ”, उहाँले भन्नुभयो, “यो कठिन छ तर सम्भव छ ।” रासस/एएफपी