• १८ पुस २०८१, बिहिबार

मर्दी हिमालको हाइ क्याम्पबाट चिनियाँ पर्यटकको उद्धार

blog

मर्दी हिमाल पदयात्रामा पर्ने हाई क्याम्पबाट सम्पर्कविहीन चिनियाँ पर्यटक उद्धारपछि उद्धार टोलीसँग । तस्बिर सौजन्यः राजेन्द्र क्षेत्री

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २६ गते । कास्कीको माछापुच्छ्रे् गाउँपालिका वडा नम्बर ९ मा मर्दी हिमाल पदयात्राको हाइ क्याम्पबाट सम्पर्कविहीन एक चिनियाँ पर्यटकलाई सकुशल उद्धार गरिएको छ । बुधबार बिहान हाई क्याम्पबाट गलत बाटो जानुभएकी २३ वर्षीया बेलालाई शुक्रबार दिउँसो उद्धार गरिएको हो । 

मङ्गलबार राति हाइ क्याम्पको होटल नमस्तेमा बसेर बुधबार बिहान उहाँ यात्रामा निस्कनु भएको थियो । पछि उहाँसँग सम्पर्क नभएपछि पर्यटक प्रहरीको अग्रसरतामा खोजी सुरु भएको थियो । पर्यटक सम्पर्कविहीन भएपछि नमस्ते होटलका सञ्चालक यामबहादुर क्षेत्री र अर्का स्थानीय प्रसाद पौडेल, पर्यटक प्रहरी पोखराका निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्री, वडाध्यक्ष हरिबहादुर क्षेत्री लगायतको टोलीले खोजी थाले पनि बुधबार राति ९ बजेसम्म बेलाको पत्तो लागेन । 

रातभरि सम्भावित क्षेत्रमा सिस्नो, काँडा, झाडी र जङ्गल छिचोल्दै टोलीले बेलाको खोजी गरेका थियो । बिहीबार बिहान मर्दी खोलाको मुहानभन्दा केही तल ठाउँ ठाउँमा मान्छे लडेको र जुत्ताको निशान भेटिएको वडाध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयो । “हामी त्यही निशान पछ्याउँदै गयौँ । ठूलो स्वारमा चिच्यायौँ, क्षेत्रीले भन्नुभयो, “उताबाट पनि कराउँदै रोएको आवाज आयो । तल खोलाको किनारनजिक कोलङ्गे भन्ने ठाउँमा उहाँलाई भेट्यौँ ।”

बेला भेटिएपछि चिनियाँ दुतावास, प्रहरी लगायतलाई त्यसको खबर गरियो । उद्धारपछि स्थानीय प्रसाद पौडेलको गोठमा ढिडो र दूध खुवाएर बेलालाई सिदिङ ल्याइएको होटल व्यवसायी यामबहादुर क्षेत्रीले उल्लेख गर्नुभयो । पर्यटक प्रहरीको जिम्मा लगाइनुभएकी बेलालाई साँझ पोखरा ल्याइएको छ । उहाँलाई शरीरमा सामान्य चोटमात्र लागेको र अवस्था खतरामुक्त रहेको माछापुच्छ्रे् -९ का वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।