• २६ असोज २०८१, शनिबार

श्रीमानको उद्धार गरिदिन सरकारसँग आग्रह

blog

गणेश खनाल

अर्घाखाँची, असोज २५ गते । पारिवारिक सुखका लागि पैसा कमाउन भनी विदेश पठाएको श्रीमान् समस्या परेपछि श्रीमानको सकुशल उद्धारको माग गर्दै गीता घिमिरेले सरकारसँग आग्रह गर्नुभएको छ ।

६ महिनाअघि अरब इमिरेट्स (युएई) को अजमानमा ज्यान गुमाएकी राधिका घिमिरेको मृत्यु प्रकरण टुङ्गगोमा नपुग्दा निर्दोष रहेका थानेश्वर घिमिरे मृत्युसँग संघर्ष गरिरहनुभएको उहाँको भनाइ छ । 

रोजगारीका लागि युएई जानुभएकी पाणिनी ५ मैदान अर्घाखाँचीकी राधिका घिमिरेको ६ महिना पहिले अजमानको चाइनामल नजिक शंकास्पद शव भेटिएको थियो । राधिकाको मृत्युलाई उहाँको परिवारले रहस्यमय भन्दै उहाँकै श्रीमान् टीकापुर–७ कैलालीका नेत्रप्रसाद न्यौपानेउपर राष्ट्रिय महिला आयोगमार्फत किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु भएको छ । 

मृतक राधिकाको परिवारले महिला आयोगको जिल्ला इकाई अर्घाखाँची र कपिलवस्तु मार्फत जाहेरी बुझाउनु भएको थियो । यद्यपि मृतक राधिकाका श्रीमान् नेत्रप्रसाद फरार भएपछि अहिलेसम्म प्रहरीले प्रकाउ गर्न सकेको छैन् ।

सोही मृत्युको प्रकरणमा जोडिनुभएका राधिकाका छिमेकी थानेश्वर घिमिरे भने हालसम्म युएईको बेसहरा भई सडकको बास बस्नु परेको छ । थानेश्वरले अनाहकमा आफू मर्ने अवस्थामा पुगेको भन्दै नेपालमा फर्कने बातावरण मिलाउन आग्रह गर्दै आउनुभएको छ । 

दिदी राधिका र भिनाजु नेत्रप्रसादले राम्रो कामको अवसर आएको भन्दै ६ महिना अगाडि नेपालबाट आफूलाई बोलाउनुभएको उहाँको भनाइ छ । गत चैत अन्तिम साता दुबई पुग्नु भएका थानेश्वर अहिले विचल्लीमा हुनुहुन्छ । 

भिनाजु नेत्रप्रसादले कोठामा रक्सी ल्याएर तीनै जनालाई खुवाउनुभएको  र सोहीबेला भिनाजु र दिदीबिच झगडा भएको थानेश्वरको भनाइ छ । दिदी वासरुमको झ्यालबाट हामफालेर आत्महत्या गरेको नेत्रप्रसादले भनेपछि आफूले दिदीको शव सडकमा देखेको उहाँले बताउनुभएको छ । स्थानीयले प्रहरीलाई खबर गरेपछि नेत्रप्रसाद घरबाट फरार भएको उहाँको भनाइ छ । थानेश्वर आफैले प्रहरीमा गई घटनाबारे जानकारी दिएको बताउनुभएको छ । तर उहाँलाई प्रहरीले सोधपुछका लागि गिरफ्तार गरेको थियो ।

४ दिन प्रहरी हिरासतमा राखेर थानेश्वरलाई अजमानको अलजुर्फ पुलिश स्टेसनले रिहा गरिसकेको छ । उहाँ भिजिट भिसा नसकिँदै नेपाल जान टिकट काटेर विमानस्थल पुग्नु भए पनि थानेश्वरलाई उडान गर्न प्रशासनले नदिएपछि नेपाल आउने बाटो उहाँको बन्द भएको छ । उहाँ निराश हुँदै दुबई फर्किउनुभएको छ । 

घर फर्किन बन्देज 

नेपाल फर्केर घर परिवारसँग दुःख साटौला भन्ने आशा पालेर घर फर्कने प्रयास गरे पनि अनुमति नमिलेको थानेश्वरले पीडा सुनाउनुभएको छ । थानेश्वर नेपाल फर्किन नपाएपछि दुबईमा काम गर्ने भनेर इमिरेट्स आइडी कार्ड बनाउन स्वास्थ्य परीक्षण गर्न जाँदा ‘मेडिकल फेल’ भएपछि उहाँ समस्यामा पर्नुभएको परिवारका सदस्यको भनाइ छ ।

स्वदेश फर्किन नपाएको र काम पनि नपाउँदा बस्न खान समस्या भएको थानेश्वरको भनाइ छ । थानेश्वरलाई नेपाल ल्याइदिन उहाँको श्रीमती गीताले आग्रह गर्नुभएको छ । घटना भएको ६ महिना बितिसक्दा पनि थानेश्वरले राहत पाउन नसकेको गीताको भनाइ छ ।