• १९ पुस २०८१, शुक्रबार

छिन्नमस्तामा हेलिकप्टरबाट पुष्पवृष्टि गराइँदै

blog

छिन्नमस्ता भगवतीको मन्दिर ।

देवरामप्रसाद यादव

सप्तरी,  असोज २५ गते । बडादसैँको अष्टमीका दिन सप्तरीको छिन्नमस्ता भगवती मन्दिरमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने भएको छ ।

छिन्नमस्ता गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत शुक्रबार पुष्पवृष्टि गराइने  गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताउनुभयो । ‘धार्मिक आस्था र मातृ शक्तिप्रति श्रद्धा व्यक्त गर्दै, छिन्नमस्ताको अद्भुत शक्तिको सम्मानस्वरूप अष्टमीको दिने पुष्प वर्षा गर्न लागेको  गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो  ।

शुक्रबार बिहान १० बजे पहिलो पटक नेपाली सेनाको हेलिकप्टरबाट मन्दिरको चारैतिर पुष्प वर्षा गरिने उहाँले जानकारी दिनुभयो । राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठुलो पोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये एक हो । 

अन्य बेलामा समेत भिड लाग्ने यस मन्दिरमा बडादसैँको समयमा ठुलो उत्सव हुनेगरेको पिठाधीश महाकान्त ठाकुरले बताउनुभयो । उहाँका अनुसार यस मन्दिरमा भाकल पूरा भएपछि लड्डु र बोका, खसीलगायत चढाउने परम्परा रहेको उहाँको भनाइ छ ।