• २४ असोज २०८१, बिहिबार

दसैँको अवसरमा डोरीमा झुन्डिएर पोखरी पार गर्ने खेल (फोटो फिचर)

blog

जानू पाण्डे

कपिलवस्तु, असोज २४ गते। कपिलवस्तुको वाणगंगा नगरपालिकाको राजापानीमा डोरीको माध्यमबाट पोखरी पार गर्ने (पोण्ड क्रस विथ रोप) साहसिक खेल सम्पन्न भएको छ। लायन्स क्लब कपिलवस्तुको आयोजनामा बुधबार सम्पन्न खेलमा सिनियरतर्फ विशाल थारु र जुनियर तर्फ अभिशेख खड्का विजयी हुनुभएको छ। थारुले ५१ हजार १ सय ११ रुपियाँ र खड्काले १५ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गर्नुभएको छ।

प्रतियोगितामा सिनियरतर्फ सुशील थारु दोस्रो र रोशन श्रेष्ठले तृतीय स्थान हासिल गर्नुभएको थियो। सुशीलले २५ हजार १ सय ११ र रोशनले १५ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नुभएको क्लबका अध्यक्ष नवदत्त घिमिरेले बताउनुभयो। जुनियरतर्फ दोस्रो हुनुभएका कपिम सापकोटाले सात हजार १ सय ११ र तेस्रो सौरभ शर्माले ५ हजार १ सय ११ नगद राशिले पुरस्कृत हुनुभएको थियो।

प्रतियोगितामा जुनियर (८ देखि १६ वर्ष उमेर समूह) र सिनियर गरी २ विधामा खेल भएका थिए। डोरीमा राखिएका रिङ समाउँदै कम समयमा धेरै दुरी पार गर्ने आधारमा प्रतिस्पर्धा गराइएको कार्यक्रम संयोजक राम सुभागे थारुले बताउनुभयो। जुनियरतर्फ २५ मिटर र सिनियरतर्फ ४८ मिटरको दुरी तोकिएको छ। उक्त खेल पहिलो पटक आयोजना गरिएको हो। खेलबाट सङ्कलन गरिएको रकम लागू पदार्थ दुर्व्यसन र अटिजम प्रभावितलाई सहयोग गर्ने क्लबका अध्यक्ष नवदत्त घिमिरेले बताउनुभयो।