• २४ असोज २०८१, बिहिबार

१० लाख खर्चेर निर्माण गरिएको पार्क बेवारिसे

blog

हाल प्रयोगबिहीन हुँदा झाडी र झारमा परिणत भएको पार्क । तस्विरः अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, असोज २४ गते । धार्मिक तथा पर्यटकीय महत्व बोकेको गायत्री मन्दिर परिषरमा निर्माण गरिएको आकर्षक पार्क अहिले झाडीमा रुपान्तरण भएको छ । वि.सं. २०७९ को चैत महिनामा रघुगंगा गाउँपालिका –३ पिप्ले अन्तर्गतको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण भएको थियो ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको १० लाख रुपियाँ बजेटमा पार्क निर्माण कार्य भएको थियो । पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषनाथ शर्माका अनुसार प्रदेश सरकारको बजेटमा उक्त स्थानमा आकर्षक पार्क निर्माण गरिएको हो । 

बेनी–जोमसोम सडक खण्डसँगै जोडिएको गायत्री मन्दिर परिषरमा बनेको पार्कमा आन्तरिक तथा बाह्य पर्यटकलाई पनि बिश्राम गर्न सहज हुने अपेक्षसहित निर्माण गरिएको शर्माले बताउनुभयो । जुन लक्ष्य र उद्देश्यसहित पार्क निर्माण गरिएको थियो, त्योअनुरुप प्रयोगमा आउन नसकेको उहाँको भनाइ छ ।

पर्यटकीयस्थल अनि सडकसँगै जोडिएको क्षेत्रमा पर्यटकलाई बिश्रामका लागि उत्कृष्ट स्थल हुने भएकाले पनि सबैको ध्यान पुग्नेगरी निर्माण गरिएको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण उपभोक्ता समितिका सचिव पदम छन्त्यालले बताउनुभयो । 

जनश्रमका साथै घरेलुबाट आएको बजेटले पनि उक्त पार्क निर्माणका लागि केही रकम अपुग भएको भए पनि स्थानीयले अन्य खर्च व्यवस्थापन गरेर पार्क निर्माण गरिएको भए पनि त्यसको उचित प्रयोग हुन नसकेको उहाँको भनाइ छ । २०७९ मंसिर २९ गते सम्झौता भएको पार्क निर्माण कार्य चैतमा सकिएको थियो ।

देशकै महत्वपूर्ण कालिगण्डकी करिडोर सडक अन्तर्गतको बेनी–जोमसोम–कोरला सडक खण्डको पवित्र तीर्थस्थल गलेश्वरधामनजिक रहेको सो पार्क क्षेत्र पनि मन्दिरै मन्दीर रहेको हुनाले पनि त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहज हुने भनेर उक्त स्थानमा पार्क निर्माण गरिएको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख शर्माको भनाइ छ । 

दुई वर्ष अगाडि पार्क निर्माण गरेको र चालु आर्थिक वर्षमा पनि स्तारोन्नत्तिका लागि बजेट आउने उहाँको भनाइ छ । बजेट हाल्दैगर्दा पनि उचित प्रयोग र संरक्षण नहुने अवस्थाको देखिएकाले बजेटलाई के गर्ने भन्ने अन्यौल हुन सक्ने उहाँको भनाइ छ ।