• २४ असोज २०८१, बिहिबार

विपन्न परिवारलाई घर हस्तान्तरण

blog

एक विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिँदै ।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २४ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा विपन्न पाँच जना दलित परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ । कोशी प्रदेश सरकारको जनता आवास कार्यक्रममार्फत निर्माण भएको घर (भवन) सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका अनुसार घर निर्माण गरिसकेर दलित समुदायका विपन्न पाँच परिवारलाई एकसाथ हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री तिलकुमार मेन्याङ्बोको उपस्थितिमा विपन्न परिवारलाई घर हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाका अनुसार घर प्राप्त गर्नेमा स्थानीय चरीमाया विक, राजकुमार विक, सम्झना विक, दिलकुमारी नेपाली र सीता रतनको परिवार रहनुभएको छ । विपन्न दलित समुदायलाई हस्तान्तरण गरिएको प्रत्येक घर तीन लाख ५० हजार रुपियाँ दरको लागतमा निर्माण भएको वडा २ थेचम्बुका वडाध्यक्ष बलुराम मेन्याङ्बोले जानकारी दिनुभयो । 

जनता आवास कार्यक्रममार्फत निर्माण गरिएको सो घरहरू भूकम्प प्रतिरोधी रहेको पनि वडाध्यक्ष मेन्याङ्बोले बताउनुभयो ।