• २४ असोज २०८१, बिहिबार

कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउने : शुक्रबार शिलान्यास

blog

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको नेकपा (एमाले) को सचिवालय बैठक ।

काठमाडौँ, असोज २४ गते। सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो। 

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले २०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिका-१४  मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको बताउनुभयो। 

च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय गरेको बताउनुभयो।

शुक्रबार कीर्तिपुर नगरपालिका-२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी दिनुभयो।

त्यस्तै बैठकले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता/कार्यकर्ता र जनप्रतिनिधिलाई आह्वान गरेको छ। 

उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रूपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्नेगरी उपनिर्वाचनमा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरूप तयारी गर्न आह्वान गरेको बताउनुभयो ।

पार्टीले वडा दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेको छ। पार्टीले केन्द्रीय सदस्य रामश्रवण बस्नेत र भीम केसीको आमाको निधन भएकोमा श्रद्धाञ्जली अर्पण गरेको छ।