• १० मंसिर २०८१, सोमबार

समाजसेवी थापाद्वारा विपन्नका लागि घर निर्माण

blog

खजुरा–४ ‘डी’ गाउँका लीलबहादुर थापा स्थानीय भीमबहादुर खत्रीको घर निर्माण गरी हस्तान्तरण गर्नुहुँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, असोज २४ गते । बाँकेको खजुरा गाउँपालिका–४ ‘डी’ गाउँका समाजसेवी लीलबहादुर थापाले गाउँको एक विपन्न परिवारको घर निर्माण गरिदिनुभएको छ । 

स्थानीय भीमबहादुर खत्रीको गत वर्षामा बाढीले कच्ची घर भत्काएपछि समाजसेवी थापाले करिब ६ लाख रुपियाँ खर्च गरी नयाँ घर निर्माण गरिदिनुभएको हो । 

दसैँको फूलपातीको दिनमा नयाँ घर पाएपछि नाबालक नाति–नातिनासहित रहनुभएका खत्रीले अब वर्षाको समयमा ढुक्कसँग घरभित्र बस्न सक्ने अवस्था बनेको बताउनुभयो । 

उहाँले घर निर्माणका लागि सहयोग गर्ने लीलबहादुर थापा र सहजीकरण गर्ने पत्रकार खगेन्द्र दाहाललाई धन्यवाद ज्ञापन गर्नुभयो । नयाँ घर हस्तान्तरणपछि उत्साहित हुँदै खत्रीले भन्नुभयो, ‘घर बनाउने र त्यसमा सुत्ने सपना अब पूरा भएको छ ।’

समाजसेवी थापाले अमेरिकामा कमाएको रकमबाट नेपालमा विपन्न समुदायलाई सहयोग गर्दै आउनुभएको छ । थापाले बाँके, सुर्खेत, गुल्मीलगायतका जिल्लामा विपन्न समुदायका व्यक्तिलाई सहयोग गर्दै आउनुभएको छ ।