• १० मंसिर २०८१, सोमबार

कालिका भगवतीमा भक्तजनको भिड

blog

कालिका भगवती मन्दिर दर्शनका लागि आएका भक्तजन । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, असोज २४ गते । आज दसैँको सातौँ दिन प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । फूलपातीका दिन भएकाले कालिका मन्दिरको दर्शन र पूजा आराधनाका लागि भक्तजन टाढा–टाढादेखि आएका छन् ।

भगवतीको दर्शनका लागि टाढाबाट पनि दर्शनार्थी आएका छन् । बागलुङका साथै पर्वत, म्याग्दी, कास्की, काठमाडौँ, चितवनलगायतका जिल्लाबाट ठुलो सङ्ख्यामा भक्तजन आएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘‘बिहानैदेखि मन्दिरमा भक्तजनको भिड लागेको छ । पूजाआजा र दर्शनका लागि सहज बनाउन सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेका छौँ ।’’ नवदुर्गाको आज सप्तमीका दिन सबैभन्दा धेरै भक्तजन आएको उहाँले बताउनुभयो । भजनकृत र नाचगानले मन्दिर परिसर गुन्जाएको छ । युवायुवती, वृद्धवृद्धाहरु मन्दिरलाई पृष्ठभूमिमा पारेर फोटो खिच्न भ्याइनभ्याई छ । 

मन्दिर परिसर सरसफाइ गरेर चिटिक्क पारिएको छ । यहाँका पुराना सत्तल भत्काएर नयाँ बनाइएको छ । सरसफाइ र फराकिलो बनाएपछि भक्तजनलाई सहज भएको छ । 


बागलुङ–पोखरा सडकको छेउमा रहेको मन्दिरको प्रवेशद्वारदेखि भक्तजन पैदल हिँडेर मन्दिरसम्म पुग्नुपर्छ । ठुलो घना जङ्गलभित्र कालिका मन्दिर छ । कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । घटस्थापनादेखि सुरु हुने विशेष पूजा कोजाग्रत पूर्णिमासम्म चल्ने व्यवस्थापन समितिले जनाएको छ ।