• १३ पुस २०८१, शनिबार

दसैंमा पनि तनहुँ जलविद्युतको काम जारी

blog

तनहुँ जलविद्युत् आयोजनाको सुरुङ प्रवेशद्वार । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, असोज २४ गते । तनहुँको ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ । 

निर्धारित समयमा काम पूरा गर्ने उद्देश्यले कामलाई निरन्तरता दिइएको आयोजनाले जनाएको छ । आयोजनाको तीनवटै प्याकेजका काम दसैंमा पनि निरन्तर सञ्चालन भइरहेको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, ‘निर्धारित समयमा पूरा गर्न प्याकेज १, प्याकेज २ र प्याकेज ३ अन्तर्गतका कामलाई दसैं बिदामा पनि नरोकी सञ्चालन गरिरहेका छौं ।’ 

हाल २२ जना चिनियाँ प्राविधिक, दुईसय जना नेपाली प्राविधिक तथा कामदारसहित दुईसय २२ जनाले काम गरिरहेका छन् । सिफ्टमा आलोपालो मिलाएर दसैंलगत्तै काममा फर्किनेगरी केही नेपाली कामदारलाई दसैं मनाउन बिदा दिइएको आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार  प्याकेज १ अन्तर्गत बाँध खन्ने काम पू्रा भई क्रङ्क्रिट गर्ने काम सुरु गर्न लागिएको छ । प्याकेज –१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग द कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन (प्रा.लि.) नेपाल जेभीले गरिरहेको छ ।   

त्यसैगरी आयोजनाको प्याकेज–२ अन्तर्गत पावरहाउसतर्फ स्टालेसन गर्ने कार्य तीव्र रुपमा भइरहेको छ । आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेज–२ को निर्माण कार्य सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ । 

भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्नगरी कंक्रिटिङ स्वीजयार्ड निर्माण, पेनस्टक तथा विद्युत गृहमा रहने उपकरण जडानलगायतका काम भइरहेका छन् । त्यसैगरी, प्याकेज –३ अन्तर्गत ९४ टावरमध्ये ७९ वटा टावरको फाउण्डेसन निर्माण गरिनुका साथै ६९ वटा टावर ठड्याइसकिएको छ । बाँकी वन क्षेत्रमा रहेकाले नीतिगत कार्यले रोकिएको आयोजनाले जनाएको छ । यसको निर्माण कार्य केइसी इन्टरनेसनल लिमिटेड, भारतले गरिरहेको छ । हालसम्म ६२ प्रतिशत काम पूरा भएको भण्डारीले जानकारी दिनुभयो । 

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार, नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर बेहोेर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।