• १० मंसिर २०८१, सोमबार

ज्येष्ठ नागरिकको निःशुल्क आँखाको उपचार

blog

आँखा उपचार केन्द्रमा बिरामीको आँखा जाँच गरिँदै । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, असोज २४ गते । १७ वर्षअघि जिल्लामा स्थापना भएको आँखा उपचार केन्द्रबाट ज्येष्ठ नागरिकको उपचारमा सहज हुँदैगएको छ । आँखा उपचार केन्द  (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) ले स्थानीय तहसँग सहकार्य गरेपछि ज्येष्ठ नागरिकले निःशुल्क र सहज उपचार पाएका छन् ।

आर्थिक वर्ष २०८०–८१ मा १८ हजार पाँचसय चार जना आँखाका बिरामीले आँखाको उपचार गराएका छन् । बिजुवारबाट १५ हजार दुई सय ७२ जना, भिंगृबाट दुई हजार छसय ९१ जना र गौमुखीबाट पाँचसय ४१ जना आँखाका बिरामीले सेवा लिएको कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले जानकारी दिनुभयो । 

गत आर्थिक बर्षमा चारसय १६ जना आँखाका विरामीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । १२ सय ४२ जना विद्यार्थीलाई विद्यालयमै पुगेर आँखा चेक जाँचगरी दुईसय जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको ठकुरीले बताउनुभयो । 

स्थानीय तहसँग सम्झौता गरेर ज्येष्ठ नागरिकलाई निःशुल्क चेकजाँच र मोतियाबिन्दुको शल्यक्रिया गरिँदैआएको छ । नौ वटा स्थानीय तहमध्ये आठवटा स्थानीय तहले उपचार केन्द्रसँग सहकार्य गरेका छन् । जिल्लामै आँखाको उपचार र शल्यक्रिया हुने भएपछि विरामी तथा ज्येष्ठ नागरिकलाई सहज भएको छ ।