• १० मंसिर २०८१, सोमबार

हनुमानढोकामा फूलपाती भित्र्याइँदै

blog

काठमाडौँ, असोज २४ गते । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती  भित्र्याउने र बढाइँ गरिँदै छ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँघरमा  भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो परम्परा छ ।

इतिहासकार दिनेशराज पन्तले फूलपाती  भित्र्याउने चलन मुख्य गरी राजामहाराजाको विजयी अभियानसँग सम्बन्धित रहेको बताउनुभयो । “खेतीपाती, वर्षा र हिलोमैलो सम्पन्न भएको, जनतासमेत सबै किसिमले फुर्सद भएका अवस्थामा राजामहाराजाले गर्ने विजयी यात्रासँग फूलपाती जोडिएको छ,” उहाँले भन्नुभयो ।

फूलपाती परम्पराको उत्पत्ति प्राचीन समयदेखि मानिन्छ । गोपाल वंशदेखि नै फूलपाती  भित्र्याउने प्रचलन रहेको पाइन्छ । नेपालको प्राचीन राज्य गोरखा दरबारमा पनि तत्कालीन राजा राम शाहले धादिङको सल्यानटार विजय गरेपश्चात् त्यहाँबाट फूलपाती  भित्र्याउने प्रचलन रहेको अभिलेखमा पाइन्छ ।

१८२५ मा पृथ्वी नारायण शाहले काठमाडौँमा विजय गरेपछि काठमाडौँलाई राजधानी तोकियो । काठमाडौँबाट शासन सुरु भएपछि पृथ्वीनारायण शाहले गोरखाको भगवतीलाई हनुमानढोकामा पनि स्थापना गरेका थिए । गोरखाबाट शाही पवित्रताका प्रतीक स्वरूप फूलपाती काठमाडौँको हनुमानढोका दरबारमा ल्याइने परम्परा सुरु गरिएको मानिन्छ ।