• २४ असोज २०८१, बिहिबार

दोहोरो नागरिकताबारे गम्भीर छलफल आवश्यक : प्रधानमन्त्री

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असोज २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक भएको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा उहाँले दोहोरो नागरिकताको विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभएको हो । 

सङ्घका अध्यक्ष बद्री केसीसहितका पदाधिकारीले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम हस्तान्तरण गर्न बालुवाटार पुगेका बेला उहाँहरूले ‘एनआरएनए नागरिकता’ प्राप्त भएपछि पनि आर्थिक र सामाजिक काममा सो नागरिकता प्रयोग गर्दा विभिन्न समस्या झेल्नु परेको गुनासो  गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले ‘एक पटकको नेपाली सधैँको नेपाली हुने भए पनि विदेशको नागरिकता लिएपछि नेपालमा राजनीतिक अधिकार प्रयोग गर्न नमिल्ने’ बताएको प्रधानन्त्रीको सचिवालयले जनाएको छ । उहाँले एनआरएनएको स्थापनापूर्वदेखि नै नेपालको समृद्धिमा गैरआवासीय नेपालीको भूमिकाका लागि आफू लागेको बताउँदै सङ्घलाई राजनीतिक आधारमा नभई सबै गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा अघि बढाउन पनि सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले विपत्का समयमा मानवीय सहयोग गरेकामा सङ्घलाई धन्यवाद दिनुभयो । एनआरएनएले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ लाख रुपियाँ जम्मा गरेको छ ।

राहत कोषमा सहयोग बढ्दो 

देशका विभिन्न स्थानमा आएको बाढीपहिरो तथा डुबान (प्राकृतिक प्रकोप) मा परेका नागरिकलाई राहत र पुनस्र्थापनाका स्वतःस्फूर्त सहयोग गर्ने क्रम जारी छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेसनल हाइड्रोपावर लिमिटेडले एक करोड रुपियाँ आर्थिक सहयोग गरेको छ । 

यसै गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ९एसटिसी० ले पनि दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले रकम हस्तान्तरण गर्नुभएको हो । कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उक्त रकमको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नुभएको कर्पोरेसनले जनाएको छ भने एभरेस्ट बैङ्कले ५० लाख रुपियाँ, सानिमा बैङ्क लिमिटेडले २५ लाख रुपियाँ, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट तथा डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख रुपियाँ दैवी प्रकोप राहत कोषमा रकम जम्मा गराएको छ ।