• १० मंसिर २०८१, सोमबार

बजेट नपाएपछि राप्ती नदीमा अस्थायी तटबन्ध

blog

राप्तीसोनारी गाउँपालिकाको खल्लाझगडियास्थित राप्ती नदीमा अस्थायी तटबन्ध निर्माण गरिँदै ।तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असोज २३ गते । बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्लाझगडियास्थित राप्ती नदीमा भत्किएको तटबन्ध निर्माणका लागि पटक पटक बजेट माग गरिए पनि सरकारले बजेट नदिँदा गाउँपालिकाले गैरसरकारी संस्थाको सहयोगमा तटबन्धको अस्थायी मर्मत गरेको छ । गत वर्षको बाढीबाट भत्किएको तटबन्ध निर्माणका लागि स्थानीय सरकारदेखि सङ्घीय सांसदसमेतले हारगुहार गर्दा पनि बजेट नदिएपछि पालिकाले कटान रोक्न तटबन्धको अस्थायी मर्मत गरेको जनाएको छ । 

धेरैतिर प्रयास गर्दासमेत तटबन्ध मर्मत हुन नसकेपछि गाउँपालिकाले गैरसरकारी संस्था सिआरएससँग सहकार्य गरेर उक्त स्थानमा अस्थायी मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो । उहाँले बजेट अभाव देखाएर मर्मतको कामलाई गम्भीरतापूर्वक नलिएकाले स्थानीय सरकारले जोखिममा रहेका गाउँबस्ती जोगाउन कामचलाउ रूपमा मर्मत गराएको बताउनुभयो । 

राप्तीसोनारी–७ का वडाध्यक्ष रामलखन थारूका अनुसार केही दिनअघि मात्रै कटान भइरहेको ८० मिटर बाँधको अस्थायी मर्मत गाउँपालिका र सिआरएसको सहकार्यमा गरिएको छ । नाइलनको जाली र नाइलनकै बोरामा बालुवा भरेर बाँसको टेको लगाएर कटान रोकिएको बताउनुभयो । उहाँले मर्मतमा १२ हजारभन्दा बढी बोरा बालुवा हालिएको जानकारी दिनुभयो । बोरा र जालीको व्यवस्था गाउँपालिकाले जनताको तटबन्धलगायतका निकायसँग सहकार्य गरेर व्यवस्था गरेको र बाँस तथा जनशक्तिको खर्चको व्यवस्था सिआरएसले गरेको अध्यक्ष थारूले बताउनुभयो । 

तटबन्ध मर्मतमा करिब १२ लाख रुपियाँको अनुमान गरिएको उहाँको भनाइ छ । वडाध्यक्ष थारूले थप्नुभयो, “अहिले गरेको मर्मत प्राथमिक उपचार मात्रै हो । कटानको जोखिम अझै टरेको छैन ।” उक्त स्थानमा करिब पाँच सय मिटर स्थायी मर्मत गर्नुपर्ने आवश्यकता रहेको र सो कार्यका लागि करिब छ करोड रुपियाँ बजेट लाग्ने अनुमान गरिएको जनताको तटबन्ध कार्यव्रmमको कार्यालयले जनाएको छ । खल्लाझगडियाका साथै राप्तीसोनारीकै विश्वम्भरपुरमा पनि राप्ती नदीमा बाँध कटान भइरहेकाले तत्काल मर्मतको आवश्यकता रहेको स्थानीयको माग छ । 

करिब एक महिनाअघि नेकपा (एमाले) बाँके क्षेत्र नम्बर १ का सांसद सूर्यप्रसाद ढकाल, वडा नम्बर ७ को खल्लाझगडियामा राप्ती नदीले कटान गरिरहेको बाँध यथाशीघ्र मर्मत गर्न सरकारलाई दबाब दिन धर्नामा बस्नुभएको थियो तर पनि सरकारले सो तटबन्ध निर्माणका बजेट पठाएन । जनताको तटबन्ध कार्यालय लमही दाङबाट निर्माण भएको उक्त तटबन्ध २०७९ सालको भदौबाट कटान हुन थालेको थियो । उक्त कटान रोक्न तटबन्धको स्थायी मर्मतको काम जनताको तटबन्ध कार्यालयले हालसम्म गरेको छैन ।