• १५ कात्तिक २०८१, बिहिबार

दक्षिणा के गर्ने ?

blog

दसैँमा कर्मचारीले एक महिनाको थप तलब पनि पाउँछन् । त्यसलाई चाडपर्व खर्च वा दसैँ पेस्की भनिन्छ । देशले एक वर्षभरि एक सय रुपियाँको आम्दानी र खर्च गर्छ भन्ने मान्ने हो भने ३० रुपियाँ दसैँ र तिहारको बिचमा आम्दानी र खर्च हुन्छ । त्यसैले दसैँ र तिहारलाई देशको अर्थ व्यवस्था चलाउने चाड पनि भनिन्छ ।

दसैँमा ठुलाबडाले टीका लगाएर आशीर्वादसँगै फूल, अक्षता र थोरै जमरासँगै केही रकम पनि दिनुहुन्छ । त्यसलाई दक्षिणा भनिन्छ । दक्षिणा पाउनेबित्तिकै दौडेर पसलमा जाने, अनि चकलेट, बिस्कुट, चाउचाउ, चिप्स, कुरकुरे आदि किन्ने कतिपयको बानी हुन्छ । 

तपाईंहरूले ‘कुबेरको धन’ भन्ने सुन्नुभएको छ ? पौराणिककालमा कुबेर भन्ने धनी र दानी राजा थिए रे । महाभारतको कथा अनुसार आर्थिक सङ्कटमा परेका बेलामा कुबेरसँग सहयोग माग्न भीम उनको दरबारमा गए । त्यहाँ पुग्दा उनी छक्क परे । कुबेर त आँगनमा पोखिएका तोरीका गेडा हातमा थुक लगाउँदै एक/एक गर्दै टिपिरहेका थिए । ‘त्यत्तिका तोरीका गेडा कहिले टिपिसक्ने होला ?’ भनी भीमले सोचिरहेका थिए । 

भीमको मनमा ‘तोरीको दाना टिप्नेसँग पनि के पैसाको कुरा गर्ने ? लागिरह्यो र कुबेरसँग कुरै नगरी फर्कंदै गर्दा बाटोमा उनको रथ हिलोमा फस्यो । जति बल गर्दा पनि रथ हिलोबाट बाहिर निस्कन सकेन । कुबेरको दरबार जाँदै गरेका मानिसले कुबेरसँग यो कुराको जानकारी दिए । कुबेरले अघि टिपेको तोरीलाई तुरन्तै हिलोमा खन्याइदिए । हिलोबाट रथ बाहिर निस्कियो । यो घटनाबाट भीमको चेतना खुल्यो । चाहिएका बेला ससानो कुराको पनि महìव हुने रहेछ भन्ने उनले थाहा पाए ।

बचत भनेको ‘कुबेरको धन’ जस्तै हो । त्यसैले हामीले दसैँमा जम्मा भएको दक्षिणालाई बचत गर्ने बानी बसाउनु पर्छ । दक्षिणालाई सही तरिकाले बचत गर्न सक्दा भोलि आवश्यकता पूरा गर्न सक्छौँ ।

तपाईंले पाउनुभएको रकमलाई कहाँ केमा कसरी खर्च गर्ने भनेर योजना बनाउनुलाई बजेट भनिन्छ । कुनै योजनाबिना खर्च गर्न थालियो भने भोलि चाहिने कुरा किन्दा आफूसँग रकम नहुन सक्छ । त्यसैले भोलिका लागि बचत गर्ने गरी दक्षिणाको सदुपयोग गर्नु पर्छ । 

खुत्रुकेमा राख्नेः पाएको दक्षिणालाई खुत्रुकेमा राख्ने गर्नु पर्छ । आज १०, २०, ५० रुपियाँ हुँदै केही समयमा एक हजार रुपियाँ जम्मा भइसक्छ । भोलि आवश्यकता पर्दा खुत्रुके फोडेर झिक्न पाइन्छ । यसबाट रकम जम्मा गर्ने बानी बस्छ भने अनावश्यक खर्च गर्ने बानी हट्छ ।

बैङ्कमा खाता खोल्नेः अचेल बैङ्कहरूले बालबालिकाका लागि पनि बचत योजना ल्याएका हुन्छन् । बाबुआमासँग सल्लाह गरेर बैङ्कमा दक्षिणा जम्मा गर्दा त्यसमा ब्याज पनि पाइन्छ । तपाईंको रकम बैङ्कले अन्य काममा प्रयोग गर्छ । त्यसबापत बैङ्कले तपाईंलाई थप रकम दिन्छ । त्यसलाई ब्याज भनिन्छ ।

ज्ञानवर्धक किताब किनेर पनि दक्षिणाको सदुपयोग गर्न सकिन्छ । पत्रु खाना (जङ्क फुड) लाई अस्वस्थकर खानेकुरा मानिन्छ । यस्ता खानेकुरामा अनावश्यक खर्च नगर्दा रकम बचत गर्न सकिन्छ । यस्ता खानेकुरा खाँदा बचत नहुने र स्वास्थ्यमा हानि पुर्‍याउँछ । बचत गर्नुभनेको तपाईंसँग भएको रकम वृद्धि गर्नु हो । गरिएको बचतलाई सही ठाउँमा प्रयोग गरेर थप आम्दानी गर्नु पर्छ । त्यसैले यस पटकको दसैँदेखि पाएको दक्षिणाको सही सदुपयोग गर्ने उपाय खोज्नुहोस् ।    

मुना

Author

गजेन्द्र बुढाथोकी