• १४ मंसिर २०८१, शुक्रबार

कमला नदी तर्न डुङ्गाकै भर

blog

मोटरसाइकलसहित डुङ्गामा कमला नदी तर्दै । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुर, असोज २२ गते । हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा यतिबेला जोखिम मोलेर डुङ्गाकै भरमा तर्नु परिरहेको छ । जनकपुरधामदेखि पूर्व सप्तरी र सिरहासहित पूर्व दिशाबाट हुलाकी राजमार्ग भएर आउने जोकोहीलाई कमला नदी तर्न डुङ्गाकै सहारा लिनु पर्छ । सिराहा र धनुषा जोड्ने यो नदीमाथि पुल निर्माण नहुँदा डुङ्गाको सहारामा नदी तर्नु परेको हो । 

डुङ्गामा मानिससँगै दुईपाङ्ग्रे सवारी मोटरसाइकल, साइलकसमेत राखेर तर्नु परेको मधेश प्रज्ञा–प्रतिष्ठानका सदस्य दिनेशकुमार यादवले बताउनुभयो । सप्तरी निवासी यादव कार्यक्षेत्र फर्किने व्रmममा मोटरसाइकलसहित आफू डुङ्गामा तरेको बताउनुहुन्छ । खोलामा पानीको बहाब बढेको समयमा मोटरसाइकलसहित डुङ्गामा नदी तर्नु निकै जोखिम भए पनि अन्य विकल्प छैन । न लाइफ ज्याकेट न अन्य सुरक्षाको विकल्प नै ।

एउटै डुङ्गामा करिब १० जना मानिससहित छ÷सात वटा मोटरसाइकल, साइकलसमेत लोड गरेर तर्नु पर्दा शरीर नै चिसो हुने उहाँको अनुभव रहेको छ । सोही डुङ्गामा सवार स्वास्थ्यकर्मी रोशन राउतले पनि निकै असुरक्षित तवरले डुङ्गामा नदी तरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कमला नदीको बिच भागमा जहाँ ठुलो बहाब छ त्यसको वारिपारि ठुल्ठुला भङ्गाला छन् । त्यहाँ तर्न धेरै नै अप्ठ्यारो भयो ।” कमला नदीको बिच भागको करिब ५० मिटर चौडाइमा करिब चार÷पाँच फिट पानी बगिरहेको छ । पैदल, मोटरसाइकल, साइकलबाट यात्रा गर्नेहरू पैसा तिरेर डुङ्गा चढेर वारपार गरिरहेका हुन्छन् । प्रतिमोटरसाइकल तार्न एक सय रुपियाँ र प्रतिसाइकल तार्न पाँच रुपियाँ एवं मानिस मात्र तार्न १०/२० रुपियाँ लिने गरेको डुङ्गा सञ्चालकले बताएका छन् । 

हुलाकी राजमार्गबाट सप्तरीको राजविराजदेखि जनकपुरसम्मको दुरी ९० किलोमिटरको हाराहारीमा छ भने दुईपाङ्ग्रे सवारीबाट दुई घण्टामा पुग्न सकिन्छ तर कमलामाथि पुल नहुँदा बाढीका कारण ठुलो र चारपाङ्ग्रे सवारी पूर्वपश्चिम राजमार्ग भएर १३० किलोमिटर बाटो तय गरेर जनकपुर पुग्नु परेको चारपाङग्रे सवारीधनी श्यामसुन्दर यादवले बताउनुभयो । हुलाकी राजमार्गस्थित कमला नदीमा यात्रुलाई वारपार गर्न दुई वटा डुङ्गा चलाएर बसेका माझीहरू भन्छन्, “हामी पैसा कमाउनुभन्दा सेवा दिइरहेका छौँ । सिराहाकावासीको कमलापारि धनुषामा धेरै जग्गाजमिन खेतीपाती रहेको छ । उनीहरूलाई खेतीपाती गर्न, गाईवस्तु भाउ गर्न जान डुङ्गा चढ्नुको विकल्प भने छैन ।” 

डुङ्गा सञ्चालनलाई व्यवस्थित र सुरक्षित बनाउन कहीँकतैबाट व्यवस्थापन भएको देखिएको पनि छैन । डुङ्गा सञ्चालनमा सवार हुँदा अपनाउनुपर्ने पूर्वसतर्कता, जोखिम न्यूनीकरण, भाडा दररेटलगायतको व्यवस्थापनका लागि न सुरक्षाकर्मीको उपस्थिति देखिन्छ, न स्थानीय तहका जिम्मेवार पदाधिकारीको । यस्तो अवस्थामा ठुलो दुर्घटना भएमा कसले जिम्मेवारी लिने ? दोषी कसलाई ठह¥याउने ? जस्ता प्रश्नहरू तेर्सिने गरेको छ । 

यसअघि सुक्खा मौसममा थोरै पानी बगिरहेको अवस्थामा स्थानीयले चचरी (काठेपुल) बनाएका थिए । उक्त पुलबाट मोटरसाइकल तर्न पनि प्रतिमोटरसाइकल ५० रुपियाँ लिने गरिन्थ्यो तर कमलामा आएको बाढीले चचरी पनि बगाएका कारण डुङ्गा सहारा बनेको छ । कमला नदीस्थित पुल पक्की बनाउने प्रयास नभएको पनि होइन । विगत १३ वर्षदेखि पुल निर्माण भइरहेको छ तर निर्माण पूरा भएर कहिले सञ्चालन हुन्छ भन्ने टुङ्गो छैन । कमला नदीमा बन्दै गरेको पुल भासिएपछि निर्माण कार्य पेचिलो बन्दै गएको छ । 

कमलाको भासिएको पुलभन्दा करिब १० किलोमिटर दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्रनजिक गत वर्षदेखि झोलुङ्गे पुल सञ्चालनमा रहेको छ तर उक्त पुल पायक नपरेको स्थानीयको गुनासो छ । झोलुङ्गे पुलबाट मानिस मात्रले आउजाउ गर्न मिल्ने भएकाले दुईपाङ्ग्रे सवारी डुङ्गामा चढाएर तर्नु बाध्यता छ ।