• २१ असोज २०८१, सोमबार

बाढीपहिरोपछि खानेपानीको चरम सङ्कट

blog

केदार तिमल्सिना 

बनेपा, असोज २१ गते । गत शनिबार आएको बाढीपहिरोपछि काभ्रेपलाञ्चोकका स्थानीय तहहरू खानेपानीको चरम सङ्कटमा पुगेका छन् । बाढीपहिरोका कारण खानेपानी उपभोक्ता समिति, स्थानीयवासीले प्रयोग गर्दै आएको खानेपानीका स्रोत, धारा, ट्याङ्कीलगायतको संरचनामा क्षति पुगेपछि स्थानीय बासिन्दा खानेपानीको चरमा समस्यामा परेका हुन् । 

बाढीपहिरोपछि जिल्लामा सबैभन्दा बढी भौतिक, मानवीय क्षति पुगेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोसी गाउँपालिका, सदरमुकाम रहेको धुलिखेल नगरपालिका र तेमालमा सबैभन्दा बढी खानेपानीको समस्या देखिएको छ । बेथानचोक गाउँपालिकाका अध्यक्ष भवगान अधिकारीले बाढीपहिरोले पालिकाभित्र रहेका विभिन्न खानेपानीको स्रोत, ट्याङ्कीका साथै खानेपानीको पाइपमा क्षति पुगेपछि गाउँपालिकाभित्र खानेपानीको समस्या देखिएको बताउनुभयो । उहाँले खानेपानी आयोजनामा क्षति पुगेसँगै नागरिकलाई गुणस्तरीय खानेपानीको उपयोग गर्न नपाएको बताउँदै त्यसबाट कुनै महामारी आउने हो कि भन्ने चिन्तासमेत थपिएको बताउनुभयो । 

अध्यक्ष अधिकारीले खानेपानीको चरम समस्या देखिएपछि स्थानीयवासीको सव्रिmयतामा टुटेफुटेका पाइप जडान गरी तत्कालका लागि अस्थायी रूपमा खानेपानी सञ्चालन गर्ने काम भइरहेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र रहेका खानेपानी योजनामध्ये ५० वटा योजना पूर्ण रूपमा क्षति, ५० वटा योजनामा आंशिक र केही योजनामा सामान्य क्षति पुगेको बताउनुभयो । 

पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले बाढीपहिरोपछि वडा नं. १, २, ३, १२ र ११ सहित समग्र नगरपालिकाभित्र नै खानेपानीको समस्या देखा परेको र नागरिक गाउँघरमा रहेका कुवाको पानी खान बाध्य भएको बताउनुभयो । यस्तै रोसी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण गाउँपालिकाभित्र रहेका खानेपानीको आयोजनामा क्षति भएकाले नागरिकले खानेपानीको समस्या भोग्न बाध्य भएको बताउनुभयो । 

रोसीखोलामा आएको बाढीका कारण खानेपानीको मुख्य लाइनको पाइप बगाएपछि सदरमुकाम रहेको धुलिखेल नगरपालिकामा खानेपानीको सङ्कट उत्पन्न भएको छ । पनौती नगरपालिका–१२ भूमिडाँडास्थित खारखोलाबाट करिब ३४ वर्षपहिले ल्याइएको धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मुख्य पाइप लाइनका करिब ४० वटा पाइप बगाएसँगै धुलिखेलमा आउने खानेपानीको आपूर्ति बन्द हुँदा धुलिखेलले खानेपानीको समस्या बेहोर्नु परेको हो । 

धुलिखेल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव श्यामदर्शन गणेजु श्रेष्ठले रोसीखोलामा आएको बाढीपहिरोका कारण धुलिखेल ल्याइएको खानेपानीका ४० वटा मुख्य लाइनको पाइप बगाएको बताउनुभयो । उहाँले पहिरोले खानेपानीको इन्टेकसमेत पुरिएको भन्दै खानेपानीको पाइप बगाएसँगै धुलिखेलमा खानेपानीको समस्या देखा परेको बताउनुभयो । “खारखोलाबाट दैनिक १८ लाख लिटर पानी धुलिखेल आउने गर्दथ्यो, धुलिखेलमा रहेको आन्तरिक स्रोतबाट जम्मा भएको पानी गरी हामी दैनिक २२ लाख लिटर पानी वितरण गर्दथ्यौँ, रोसीबाट पानी नआएका कारण यहाँ भएका मुहान, इनारबाट पानी जम्मा गरेर दैनिक दुई लाख लिटर वितरण गर्नुपर्ने अवस्था रहेको छ,” उहाँले भन्नुभयो । बाढीपछि नागरिकले प्रयोग गरेको खानेपानीका कारण महामारीजन्य रोग लाग्ने हो कि भन्ने चिन्तासमेत बढेको छ ।