• १९ असोज २०८१, शनिबार

लाइसेन्स नियमन गर्न स्मार्ट फोन हस्तान्तरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १९ गते । स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नियमन गर्न ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले शुक्रबार १०४ वटा मोबाइल सेट प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई हस्तान्तरण गर्नुभएको हो ।  

मन्त्री पौडेलले यातायात क्षेत्रलाई प्रभावकारी नियमन र सञ्चालनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । लाइसेन्स छपाइमा देखिएको समस्या छिट्टै समाधान गर्न सरकार लागिपरेको उहाँले बताउनुभयो । 

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्र छाप्ने काम सुरु भएको बताउनुभयो । लाइसेन्सलाई राष्ट्रिय परिचय र नागरिक एपसँग जोडिएको चर्चा गर्दै उहाँले भन्नुभयो, “यातायात क्षेत्र प्रदेशको एक्लो अधिकार क्षेत्र रहेकाले लाइसेन्स छापेर दिने काम हामीले सुरु गरिसकेका छौँ ।”  

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लाइसेन्स चेकजाँचमा मोबाइल सेटले थप सहजीकरण हुने बताउनुभयो । तीव्र गति नै सडक दुर्घटनाको प्रमुख कारण भएकाले दुर्घटना न्यूनीकरणका लागि मोबाइल सेटले प्रभावकारी काम गर्न सकिने उहाँको भनाइ छ ।