• १८ असोज २०८१, शुक्रबार

बीमा बोर्डले ल्यायो पञ्चवर्षीय मार्गचित्र

blog

सिर्जना खत्री 

काठमाडौँ, असोज १८ गते। स्वास्थ्य बीमा बोर्डले पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक गरेको छ। मार्गचित्रले अबको पाँच वर्षमा कसरी अघि बढ्न सकिने बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो।  

मल्लका अनुसार बोर्डको संरचनागत सुदृढीकरण तथा सुशासन, स्वास्थ्य बीमा ऐन तथा नियमावली परिमार्जन र आवश्यक कार्यविधि निर्माण, बीमा कार्यक्रममा नागरिकको आबद्धतामा वृद्धि गर्ने, स्वास्थ्य बीमा सञ्चालनमा दिगो वित्तीय व्यवस्थापन गर्ने मार्गचित्र छ। 

त्यसैगरी, सूचीकृत स्वास्थ्य संस्थाबाट प्रवाह गरिने स्वास्थ्य सेवामा सुधार, बीमा व्यवस्थापन सूचना प्रणालीको सुदृढीकरण, दाबी व्यवस्थापन प्रणालीको परिमार्जन, अनुगमन तथा मूल्याङ्कन प्रणालीमा सुधार र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य गर्ने बोर्डले जनाएको छ।

२०७२ सालमा कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशैभर लागू भएको छ। बोर्डको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०÷८१ सम्म व्यक्तिगत बीमा गर्नेको सङ्ख्या ८१ लाख १४ हजार ५९४ रहेको छ। यो कुल बीमितको २८ प्रतिशत हुन आउँछ।  २५ लाख १४ हजार २२० परिवारले भने संयुक्त बीमा गरेका छन्। यो कुल बीमितको ३८ प्रतिशत प्रतिशत हो। 

बीमा गर्नेको सङ्ख्या बढे पनि ६२ प्रतिशतले मात्र नवीकरण गरेको तथ्यांकले देखाएको छ। हाल सरकारी र समुदायिक गरी कुल ४७९ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्रवाह भइरहेको छ।  

बीमा कार्यक्रममा आवद्ध हुनुका लागि पाँच जनासम्मको परिवारको लागि तीन हजार पाँच सय रकम तिनुपर्दछ। थप एक सदस्यका लागि सात सयका दरले योगदान रकम बुझाउनुपर्ने व्यवस्था छ। 

पाँच जनासम्मको परिवारका लागि एक लाखसम्मको निःशुल्क उपचार हुन्छ भने एक जना सदस्य थपिए २० हजारका दरले उपचार खर्च पाउने प्रावधान छ। 

सरकारी अस्पतालमा उपचार गराएमा बीमितले ९० प्रतिशतसम्म छुट पाउँछन् भने निजी अस्पतालमा यो छुट ८० प्रतिशत मात्र छ। हालसम्म १५२ प्रकारका प्रयोगशाला परीक्षण, ७२ इमर्जिङ सेवा, १०२ मेडिकल उपचार, ३६ वटा मुटु सम्बन्धी उपचार, ९१५ सर्जिकल उपचार र ४३ प्रकारका शल्यक्रियामा बीमाको छुट पाइन्छ।