• १८ असोज २०८१, शुक्रबार

खुम्लेकिराको आतङ्कले कृषक चिन्तित

blog

बारीमा भेटिएको खुम्लेकिरा ।

कविराज घिमिरे 

हिले, असोज १८ गते ।  खुम्लेकीराको प्रकोप बढेपछि धनकुटाका कृषक समस्यामा परेका छन् । खुम्लेले बाली बिरुवाका जरा खाएर बाली सखाप पार्ने भएपछि किसान हैरान बनेका हुन् । 

गत वर्षसम्म अलिअलि मात्र देखापरेको खुम्लेकिरा यो वर्षबाट प्रकोपकै रुपमा देखिन थालेपछि कृषक समस्यामा परेका हुन् । तरकारी, अन्न र दालबालीमा यो किरा प्रकोपकै रुपमा फैलिएको कृषकको भनाइ छ । विगतका बर्षमा फाट्टफुट्ट मात्र देखिने यो किराले अहिले यहाँको खेतीबालीमा प्रकोपको रुप लिएको छ । 

खुम्लेकीराको सङ्ख्या यति धेरै वृद्धि भएको छ कि एक जनाले खनेर सक्ने एक दिनको मेलोमा दुई किलो जति खुम्लेकीरा भेटिने गरेको किसानको भनाइ छ । यहाँ लगाइएको बन्दाकोपी, काउली, मूला, आलु, मकैजस्ता खेतीमा खुम्लेकिराले ८० प्रतिशतसम्म नोक्सान गरेको धनकुटाको छथरजोरपाटी गाउँपालिका –२ फलैचाका कृषक चन्द्रबहादुर सारु मगरले बताउनुभयो । 

तुलनात्मक रुपमा तरकारी खेती हुने क्षेत्रमा खुम्लेको प्रकोप बढी देखिएको छ । त्रिसुले, गुराँसे, जोरपाटी र सिंधुवालगायतका ठाउँ ताजा तरकारी उत्पादन पकेट क्षेत्र हुन् । यही क्षेत्रमा समस्या बढी छ । यहाँको उचाइ समुद्र सतहबाट दुई हजार दुईसय मिटरसम्म छ । कृषि प्राविधिकहरु खुम्लेकिरा खपटे किराका विभिन्न प्रजातिका लार्भा भएको बताउँछन् । 

खपटे कीरा रातभरि फलफूल र तरकारीका पात खाने र उज्यालो हुनासाथ माटोभित्र लुक्ने गर्छ । माटोमुनि फूल पार्छ र लार्भाहरु निस्कन्छन् । तिनै लार्भाले माटोभित्र बसेर बिरुवाका कलिला जरा खान्छ । मलको रुपमा प्रयोग गरिने काँचो वस्तु तथा बारीमै छाडिने तरकारीबालीका कारण यसको प्रकोप बढ्नेगरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले बताउनुभयो ।