• १८ असोज २०८१, शुक्रबार

पुल बगेपछि ६ घण्टा बाटो लम्बियो

blog

सुनकोशीमा आएको बाढीले क्षति गरेको रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुल ।

नवराज श्रेष्ठ

रामेछाप, असोज १८ गते । बाढी पहिरोले बिपी राजमार्ग र महत्वपूर्ण दुई वटा मोटरेबल पुलमा क्षति गरेपछि सडक सम्पर्क विच्छेदमा परेको रामेछापबाट वैकल्पिक रूपमा पुष्पलाल मार्ग मन्थली–चरिकोट–खाडीचौर–काठमाडौँ सडक खुलाइएको छ । यो सडक खुले पनि ६ घण्टा बाटो लम्बिएको छ ।

दोलखाको किर्नेस्थित खिम्ती जलविद्युत् आयोजनास्थलबाट बाइपास सडक खुलेसँगै दसैँमा घर जान र आउन नसक्ने अवस्थामा पुगेका रामेछापवासीका लागि राहत भएको छ । यो सडक खुलेसँगै रामेछापबाट दोलखा र सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ आवतजावतमा सहज भएको हो । 

घर जाने आउने मुख्य बाटोको पुल बाढीले बगाएपछि यो वर्षको दसैँमा घर आउन नपाउने हो कि भन्ने चिन्तामा रहेका रामेछापका नागरिकलाई मन्थली–चरिकोट–काठमाडौँ सडक खुलेपछि राहत मिलेको काठमाडौँबाट घर आएका सुनापति गाउँपालिका –४ का पेम्बा तामाङले बताउनुभयो । 

उहाँले भन्नुभयो, “बाटो धेरै लामो भए पनि दसैँमा घर आउन पाइयो । यसमै खुसी लागेको छ । दोलखाको किर्ने बाहेक अन्य ठाउँमा बाटो राम्रो छ । यात्रा सहज नै भयो ।” पुष्पलाल मार्गअन्तर्गत दोलखाको किर्नेटारमा तामाकोशीमा आएको बाढीले ४ सय मिटर सडक बगाएपछि अवरुद्ध सडकलाई बाइपास सडक बनाएर खुलाइएको हो । 

किर्नेटारमा रहेको खिम्ती जलविद्युत् केन्द्रको आवास क्षेत्रबाट वैकल्पिक रूपमा सडक खुलाइएको छ । बिपी राजमार्गमार्फत साढे ४ घण्टमा काठमाडौँ पुगिरहेका रामेछापवासीलाई रामेछापबाट दोलखा र सिन्धुपाल्चोक हुँदै राजधानी काठमाडौँ पुग्न ६ घण्टाभन्दा बढी समय लाग्ने भएको छ । 

बिपी राजमार्गको खुर्काेट–नेपालथोक–धुलिखेल–काठमाडौँ सडकमार्फत साढे ४ घण्टामा काठमाडौँ पुगिने भए पनि अहिलेको मन्थली–चरिकोट–सिन्धुपाल्चोक सडकमार्फत काठमाडौँ पुग्न ११ घण्टा समय लाग्ने चालक अञ्जित लामाले बताउनुभयो ।