• ११ पुस २०८१, बिहिबार

कति सम्झाऊँ चमेलीलाई (कविता)

blog

हिजोआज

श्रीमतीले मन दुख्ने कुरा गर्न छाडिसकिन् 

म देख्दै छु 

उनको फरियाले आँखीझ्याल बुन्दै छ

उनी सपाट बन्दै छिन्

हिजोका दिनहरू सम्झेर 

लाली सुकेर हो कि 

ओठ निला भाका छन् 

अनुहार गैरीगाउँको सिमसार जस्तै रसिला छन् 

भोक के हो ?

प्यास के हो ?

जिन्दगी भौँतारिरहेको छ, काकाकुल जस्तै 

समयलाई जाल हाल्न मिल्ने भए !

समयलाई एकछिन सिउन मिल्ने भए !

चमेलीको आङमा चम्किने

एक जोर चोली सिलाइदिन हुन्थ्यो 


डाँडामा आज फेरि घाम आयो 

म सिउँदै छु उध्रिएको लुगा

अनि मिलाउँदै छु स्टकोटको मुजा 

तर मैले सिउन भ्याएको छैन

चमेलीको मनभित्र फाटेका सिरक !


काँधमा उहीँ पुरानो स्टकोट चम्किरहेको छ

दाउरा सुरुवालमा माकुराले जालो बुनिसक्यो

कतिन्जेल थाम्ने हो चिसो सिरेटोलाई 


छोराले लाएको दाउरा सुरुवालमा

मेरो रहर कतै मरेको छैन 

मनभित्रका मेरो पीडाहरू

चमेलीको मुस्कामा अढेस् लागिरहेछन्

मायाले संसार चल्दो हो त 

यो जिन्दगी कति सहज हुँदो हो !

आज हो कि भोलि हो

जिन्दगी चव्रmव्यूहमा रुमलिएको छ

कति सम्झाऊँ म चमेलीलाई

अब हतार नगर !  मधुपर्क