• ४ जेठ २०८१, शुक्रबार

अवरुद्ध मतदानः केही सुचारु, केहीमा प्रयास जारी

blog

अछामको रामारोशन गाउँपालिका १ मलातिकोट मतदान स्थलमा मतदानका लागि लाइनमा बसेका मतदाता । तस्बिरः झलनाथ खनाल, रासस

काठमाडौं, वैशाख ३० गते। स्थानीय निर्वाचन अन्तर्गत शुक्रबार बिहानदेखि देशैभरमा शान्तिपूर्ण ढंगबाट मतदान कार्य जारी छ। तर, निर्वाचन आयोगले दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको जनाएको थियो। 

नेपाल प्रहरी केन्द्रीय कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले अवरुद्ध स्थानमा कतिपयमा सुचारु भएको र कतिपयमा सुचारुको गर्ने प्रयार जारी रहेको बताउनुभयो।

धनुषा, रामेछाप र दोलखामा सुचारु

“धनुषामा सामान्य विवाद भएको थियो, त्यहाँ मतदान सुरु भइसक्यो”, उहाँले भन्नुभयो, “सर्लाहीको धनकोल गाउँपालिकाको मतदान केन्द्रको विवाद भने अहिलेसम्म सुचारु हुन सकेको छैन।” दोलखामा केही समस्या देखिए पनि त्यहाँ सबै मतदानस्थलमा मतदान कार्य जारी रहेको उहाँ बताउनुहुन्छ। 

अन्यमा प्रयास जारी

तराईका तीन जिल्ला सर्लाही, सिराह र बारामा देखिएका समस्या समाधानका लागि छलफल भइरहेको उहाँले बताउनुभयो। यसैगरी, प्रदेश नं। १ को धनकुटाको शहिदभूमिमा पनि बिहान ११ बजेदेखि मतदान कार्य स्थगित भएकोमा सुचारुको प्रयास जारी रहेको उहाँले बताउनुभयो। 

“सप्तरीमा एउटा इन्सिडेन्ट छ, यो छलफलको क्रममा छ। सिन्धुलीमा कुनै विवाद छैन”, उहाँले भन्नुभयो, “हुम्लाको चंखेली र आदानचुलीमा स्थगित छ।”

यस्तै, काभ्रेको कात्तिके देउराली र पाँचखालमा पनि मतदानका क्रममा समस्या देखिएपछि छलफल एवम् सुचारु गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो।

सुदूरपश्चिम प्रदेशको दार्चुला र बझाङमा स–साना समस्या देखिएको उहाँको भनाइ छ। 

कुनै एक जिल्लाको पनि एक मतदानस्थलभित्रका मतदान केन्द्रमा समस्या देखिएकाले यसमा मतदान कार्य छिट्टै सुचारु हुने उहाँले बताउनुभयो।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।