• १९ असोज २०८१, शनिबार

बाढीपहिरोले दसैँ बजार प्रभावित

blog

काठमाडौँ, असोज १६ गते । दसैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यका बजारमा चहलपहल बढे पनि कारोबार भने बढ्न सकेको छैन । बिहीबारदेखि यस वर्षको दसैँ सुरु हुँदै छ । बजारमा सामान्य चहलपहल बढे पनि व्यवसायीमा उत्साह देखिएको छैन ।  

दसैँतिहारबाट व्यापार चलायमान हुने अपेक्षा भए पनि व्यापार बढ्ने समयमा नै बाढीपहिरोको विपत्ति आउँदा कारोबार बढ्न नसकेको व्यापारी बताउँछन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोको कारण आम मानिसमा दसैँको उत्साह कम देखिएको छ । 

दसैँ मान्न गाउँ जाँदा अधिकांशले लुगाफाटा तथा अन्य सरसामान लिएर जान्छन् तर बाढीपहिरोका कारण मान्छेले समान किन्न पनि छाडेका छन् त्यही भएर बजारमा चहलपहल देखिए पनि व्यापार छैन । 

न्युरोडस्थित न्युरोड इम्पेरियलका सञ्चालक कृष्ण महर्जन यसपालि व्यापारमा उत्साह नभएको बताउनुहुन्छ । उपभोक्तासँग पैसा नभएर हो कि के हो थाह छैन पसलमा सामान हेर्ने आउनेको भिडभाड देखिन्छन् तर कारोबार आधा पनि नभएको उहाँले बताउनुभयो । विगतका वर्ष जस्तै यसपालि बजारमा ग्राहक नै कम आएको उहाँले बताउनुभयो । 

विगतका वर्ष दसैँ सुरु हुने बेला दैनिक एकदेखि डेढ लाख रुपियाँको कारोबार हुने गरेकोमा यसपालि दिनमा ५० देखि ६० हजार कटाउन मुस्किल भइरहेको उहाँले बताउनुभयो । 

“अधिकांश मानिस विदेश गएकाले विगतका वर्षको तुलनामा कम ग्राहक आउने गरेका छन्,” उहाँले भन्नुभयो, “बाढी पहिरोका कारणले गाउँमा जाने निश्चित नभएकाले पनि सामान किन्न ग्राहक कम आउने गरेका छन् ।” 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवाल दसैँतिहारबाट व्यापार चलायमान हुने अपेक्षा भए पनि व्यापार बढ्ने समयमा नै बाढीपहिरोको विपत्ति आउँदा समस्या आएको बताउनुभयो । 

उपत्यकाका बजारमा सामान्य व्यापार भए पनि बाहिरी जिल्लामा व्यापार न्यून रहेको उहाँले बताउनुभयो । भन्सार, ढुवानी भाडा, घर भाडा, स्थानीय करले सामानको लागत मूल्य बढेको छ तर कारोबार भने ४० देखि ५० प्रतिशत मात्र  हुँदा व्यवसायीलाई प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । “विगतका वर्षमा दसैँमा अन्य सिजनको तुलनामा दोब्बर तेब्बर कारोबार हुने गरेको थियो,” उहाँले भन्नुभयो, “यस वर्ष बजारमा ग्राहक नै छैन, माग पनि न्यून हुँदा कारोबार बढ्न सकेको छैन ।” 

सामान आयात

व्यवसायीले दसैँलक्षित गरेर सामान आयात गरिसकेको छन् । दसैँमा विशेष गरी लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्न, मसलालगायतका सामान बढी बिक्री हुने गर्छन् तर सोच अनुसार व्यापार नहुँदा व्यवसायी चिन्तित देखिन्छन् । यस्तो व्यापारले पसलको सटर भाडा, कर्मचारी तलब दिन पनि कठिन हुने गरेको उनीहरू बताउँछन् । व्यवसायीका अनुसार यो वर्ष केही सामानको मूल्य बढेर आए पनि अधिकांशको बढेको छैन । 

न्युरोडस्थित भद्रकाली अजिमा स्टोरकी सञ्चालक मैयाँ महर्जन यो वर्ष कारोबार बढ्न नसकेको बताउनुहुन्छ । विगतमा दिनमै ५० हजारदेखि एक लाख रुपियाँसम्म जुत्ताचप्पल बिक्री हुने गरेकोमा यसपटक आधाले घटेको उहाँले बताउनुभयो । 

विगतका वर्षमा दसैँ नजिकिँदै गर्दा मुख्य बजार न्युरोड, असन, इन्द्रचोक, लगनलेखमा सामान किन्ने ग्राहकको अत्यधिक भिडभाड लाग्ने गरेकोमा यसपालि भने सामान्य देखिन्छ । उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा बजारमा माग कम भई व्यापारमा समेत कमी आउने गरेको छ ।  विगतका वर्षमा फुटपाथमा सामान बिक्री गर्नेले सस्तो सस्तो सामान बिक्री गर्ने गरेका थिए तर फुटपाथ हटाएपछि पसलबाट सामान किन्न उपभोक्तालाई महँगो मूल्य पर्ने भएकाले बजारमा किनमेल घटेका छन् ।