• १५ पुस २०८१, सोमबार

पोखरामा प्याराग्लाइडिङ : सामान्य उडानको आठ हजार

blog

फाइल तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, असोज १५ गते। कास्कीको पोखरामा हुने प्याराग्लाइडिङ उडानमा मङ्गलबारबाट नयाँ शुल्क लागू भएको छ। प्याराग्लाइडिङ कम्पनी र पाइलटबिच अक्टोबर १ बाट नयाँ शुल्क लागू गर्ने सहमति भएको थियो। 

आपसी विवादका कारण एकद्वार प्रणाली हटाइँदा गएको मङ्सिरयता प्याराग्लाइडिङ उडान शुल्क तीन हजारसम्म झरेको थियो। करोडौं लगानी गरेका कम्पनी आपसी विवादका कारण साह्रै सस्तो शुल्कमा काम गर्नुपर्दा विस्थापित हुने अवस्थामा पुगेका थिए भने धेरै पाइलटले पेशा नै छाड्ने अवस्था आएको थियो। 

नेपाल हवाई खेलकुद संस्था (ना) पोखरा अध्यक्ष अनिल केसी दुवै पक्षले अहिले यथार्थ महसुस गरी समाधान खोजेको उल्लेख गर्नुभयो। अहिले नेपाल प्याराग्लाइडिङ पाइलट क्लब र नाका प्रतिनिधिबिच भएको छलफलपछि नयाँ शुल्क तोकिएको छ। “यसरी अस्वस्थ प्रतिस्पर्धाले गर्दा एकातिर सुरक्षा खतरा देखियो भने अर्कातिर कम्पनी र पाइलट दुवै विस्थापित हुने अवस्था बन्यो,” अध्यक्ष केसीले भन्नुभयो, “अहिले दुवै पक्ष बसेर नयाँ शुल्क तोकिएको छ। अक्टोबर १ बाट त्यो शुल्क लागू भएको छ।”

अब १५ देखि ३० मिनेटसम्मको उडानको संस्थागत मूल्य सात हजार पाँच सय र अधिकतम बजार मूल्य आठ हजार पाँच सय कायम हुनेछ। ३० मिनेटदेखि ६० मिनेटसम्म कम्पनी मूल्य ११ हजार दुई सय ५० र अधिकतम मूल्य १२ हजार सात सय ५० रुपियाँ राखिएको छ। ६० मिनेटको उडान क्रस कन्ट्री हो। 

पहिले सामान्य उडानको १२ हजार र क्रस कन्ट्री फ्लाइटको १८ हजार शुल्क थियो। गएको मङ्सिर अन्तिम साताबाट व्यवसायीबिच विवादपछि एकद्वार प्रणाली हट्दा उडान शुल्क तीन हजारसम्म झरेको थियो। अर्थतन्त्रमा सुधार आउँदै जाँदा पाइलट र व्यवसायी दुवैले थोरै मार्जिन राखेर चल्ने उपाय खोजेको उहाँको भनाइ छ। क्रस कन्ट्री उडानको शुल्क १८ हजारबाट घटाइएको हो। क्रस कन्ट्री उडान कुल उडानको बढीमा १० प्रतिशतमात्र हुने गरेको छ। 

अहिले पाइलटको पारिश्रमिक पनि बढाइएको छ। यो निर्णयसँगै पाइलटले अब प्रतिउडान ६० प्रतिशत र व्यवसायीले ४० प्रतिशत पाउने छन्। यसअघि दुवै पक्षले आधाआधा रकम पाउने गरेका थिए। 

कस्कीमा अहिले नवीकरण भएका ५० प्याराग्लाइडिङ कम्पनी छन्। दर्ता भएका ५७ मध्ये सात वटाको नवीकरण भएको छैन। यहाँ चार सय हाराहारी प्याराग्लाइडिङ पाइलट रहेकोमा दुई सय ९५ जना नियमित काममा छन्। 

उडान भर्ने ग्राहक पाएको अवस्थामा दिनमा दुई पटकसम्म एक पाइलटले उडान भर्न सक्छन्। पाइलटले आफूले उडाउने ग्लाइडर आफैं व्यवस्था गर्नुपर्छ। यसको शुल्क दश लाखसम्म पर्छ। प्यारा पाइलट बन्न दुईदेखि तीन वर्ष तालिम र अन्य लगानी गरी २५ लाखसम्म खर्च हुने जानकार बताउँछन्। 

यता, प्याराग्लाइडिङ कम्पनीले अप्रेसन खर्च, गाडी र आवश्यक सामान लेकसाइडबाट सराङकोट पुर्‍याउनेसहितका खर्च व्यहोर्दै आएका छन्। पोखरा प्याराग्लाइडिङ क्षेत्रमा एक अर्बभन्दा बढी लगानी भएको बताइन्छ। 

नेपाल प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष दीपक थापाले पछिल्लो समय बनेको सहमतिले यो क्षेत्रमा स्थायित्व ल्याउने अपेक्षा गर्नुभयो। उहाँले भन्नुभयो, “पहिले न पाइलटको सुरक्षा, न आम्दानी हुने अवस्था थियो। अहिलेको सहमति राम्रो छ। यसलाई कार्यान्वयन गरी पोखराको प्याराग्लाइडिङलाई पहिलेकै अवस्थामा पुर्‍याउनुपर्छ।”