• २७ असोज २०८१, आइतबार

ज्येष्ठ नागरिकको सम्मान

blog

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सुरुवात सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सुरु भएको थियो । उक्त साधारण सभाले निर्णय गरे अनुसार १९९१ अक्टोबर १ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । १९९१ को १६ डिसेम्बरमा बसेको संयुक्त राष्ट्रसङ्घको साधारण सभाले ज्येष्ठ नागरिकको अधिकारसम्बन्धी सिद्धान्त स्थापित गरेको थियो । जसमा उनीहरूको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मान प्रमुख छन् । ज्येष्ठ नागरिकको बढ्दो सङ्ख्याले सिङ्गो समाजको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनमा प्रभाव पारेको हुन्छ । यिनै प्रभावबारे र ज्येष्ठ नागरिकका हक, अधिकारबारे जनचेतना अभिवृद्धि गर्नु यस दिवसको मुख्य उद्देश्य हो । स्वास्थ्य, शिक्षा र यसको पहुँचमा सर्वत्र भएको विकासको कारणले अन्य मुलुकमा जस्तै नेपालमा पनि नेपालीको औसत आयु बढ्ने क्रममा रहेको छ । 

यस दिनले ज्येष्ठ नागरिकका अधिकारको आवश्यकताबारे सर्वसाधारणमा जनचेतना फैलाउने कामलाई निरन्तरता दिने भएकाले पनि यसको ठुलो महत्व छ । यो दिनलाई उनीहरूको स्वतन्त्रता, सहभागिता, स्याहार, आत्मपरिपूर्ति र सम्मानसँग सम्बन्धित जनचेतना अभिवृद्धि गर्ने प्रमुख दिनका रूपमा पनि लिने र सोही अनुरूपका कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । राष्ट्रसङ्घले ज्येष्ठ नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कुनै एक विषयलाई यस दिवसको मुख्य नारा बनाउने गरेको छ । संसारभरि नै राष्ट्रसङ्घले दिएको नाराकै सेरोफेरोमा केन्द्रित हुने यो दिवसको यो वर्ष अर्थात् ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको नारा ‘सम्मानित बुढ्यौली : विश्वव्यापी रूपमा स्याहार तथा सहयोग पद्धतिको सबलीकरण’ रहेको छ ।

यो वर्षको नारामा राष्ट्रसङ्घको साधारण सभाले स्थापित गरेको ज्येष्ठ नागरिकका अधिकारसम्बन्धी दुई सिद्धान्तलाई प्रत्यक्ष समावेश गरेको छ– सम्मान र स्याहार तथा हेरविचारको सिद्धान्त रहेका छन् । सम्मान अन्तर्गत पहिलो बुँदामा ज्येष्ठ नागरिक शारीरिक एवं मानसिक शोषणबाट मुक्त भई स्वतन्त्रतापूर्वक सम्मानजनक र सुरक्षित जीवन बाँच्न पाउनु पर्छ भन्ने अधिकार स्थापित गरेको छ भने दोस्रो बुँदामा उमेर, लिङ्ग, वर्ण, जाति, धर्म, अपाङ्गता वा अन्य कुनै आधारमा ज्येष्ठ नागरिकको विभेद गरिनु हुँदैन भन्ने अधिकारका कुरा समावेश छन् । ज्येष्ठ नागरिकले गरेका उत्पादनशील, सामाजिक, आर्थिक कार्यबाट राष्ट्रले प्राप्त गरेका योगदानका आधारमा उनीहरूको कदर गरिनु पर्छ भन्ने सम्मानको अधिकारभित्र समावेश छ । 

यसै गरी स्याहार हेरचाह अन्तर्गत ज्येष्ठ नागरिकले आआफ्नो समाजको परम्परागत तथा सांस्कृतिक मूल्य र मान्यता अनुसार आफ्ना परिवार र समुदायबाट समुचित हेरविचार र संरक्षणको सुविधा पाउनु पर्छ भन्ने कुरालाई समावेश गरेको छ । ज्येष्ठ नागरिकले आफूलाई सम्भाव्य रोगको सिकार हुनबाट बचाउन, त्यसको उपचार गर्न, आफ्ना शारीरिक, मानसिक र संवेगात्मक स्थितिलाई क्रियाशील राख्न हेरविचारको सुविधा पाउनु पर्छ भन्ने अधिकारको कुरा पनि यसमा समेटिएको छ । ज्येष्ठ नागरिकले स्वतन्त्रता, संरक्षण र समुचित हेरविचारका लागि आवश्यक पर्ने सबै सामाजिक तथा कानुनी सेवा उपलब्ध हुनु पर्छ भन्ने अधिकारलाई पनि स्याहार तथा हेरचाहभित्र समावेश गरेको छ । ज्येष्ठ नागरिकले मानवोचित वातावरणमा संस्थागत संरक्षण, पुनस्र्थापना तथा सामाजिक र मानसिक प्रोत्साहनका सुविधा उपयोग गर्न पाउनुपर्ने अधिकारलाई पनि यसमा समावेश गरेको छ । अन्त्यमा ज्येष्ठ नागरिक घर, वृद्धाश्रम, उपचार केन्द्र जहाँसुकै बसे पनि आफ्नो हेरविचार, जीवनस्तर, सम्मान, आत्मविश्वास आवश्यकता, गोपनीयता जस्ता विषयमा निर्णय गर्नुपर्दा मानव अधिकार एवं मौलिक स्वतन्त्रताको पूर्ण प्रयोग गर्न पाउने अधिकारलाई स्याहार हेरचाह अधिकारको सिद्धान्तमा समावेश गरेको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइरहँदा यो दिवसको महत्व र यसको आवश्यकताबारे पनि जानकार हुनु आवश्यक छ । अहिले विश्वभर ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । जनसङ्ख्या तीव्र वृद्धिसँग विभिन्न चुनौती र अवसर देखा पर्न थालेका छन् । ज्येष्ठ नागरिकको जनसङ्ख्या व्यवस्थापन गर्न विकसित देशमा नयाँ नयाँ अवधारणा, पद्धति र प्रविधिको विकास भइरहेका छन् जुन कुराको जानकारी आमजनमानसमा छैन । ती कुराबारे आमजनमानसलाई जानकारी दिनका लागि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा सञ्चालन गरिने विभिन्न कार्यक्रमले सहयोग गर्छ । ज्येष्ठ नागरिकको ज्ञान, सिप र अनुभवको माध्यमबाट युवापुस्ताले नयाँ कुरा सिक्ने प्रशस्त अवसर प्राप्त गर्ने भएकाले पनि उनीहरूको सहभागिता, सम्मान र सहयोगका लागि युवापुस्ताले मार्ग प्रशस्त गरिदिनु आवश्यक छ । यसबाट युवापुस्ताको भविष्य सुनिश्चित बन्ने आधार त छँदै छ ज्येष्ठ नागरिकले पनि आफ्नो ज्ञान, सिप र अनुभवको उपयोग गर्ने वातावरण बन्ने छ । 

सम्मानित बुढ्यौलीका लागि ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गर्न अत्यावश्यक छ । मानव अधिकारका विद्यमान मापदण्डमा ज्येष्ठ नागरिकको अधिकार रक्षाका लागि आवश्यक प्रावधानको कमी छ । अधिकारको सुनिश्चितता नभएकै कारण ज्येष्ठ नागरिक दुव्र्यवहार, नैराश्य र एक्लोपनको चरम जोखिममा रहन्छन् । अझै पनि ज्येष्ठ नागरिकका समस्या तथा मर्कालाई अधिकार तथा न्यायिक दृष्टिले भन्दा पनि दयादानका पात्र सम्झेर कल्याणकारी दृष्टिले हेर्ने गरिएका घटना प्रशस्तै भेटिन्छन् । ज्येष्ठ नागरिकको मानव अधिकारबारे विश्वव्यापी घोषणामा गरिएका वाचा पूरा गर्न आमजनमानसलाई झकझक्याउन पनि यो दिवस मनाउनु महत्वपूर्ण छ ।

जनसाङ्ख्यिक संरचनामा आएको परिवर्तनले अबको युग ज्येष्ठ नागरिकको हुने विश्व मान्यता छ । संयुक्त राष्ट्रसङ्घका अनुसार अहिले विश्वमा हरेक एक सेकेन्डमा दुई जना व्यक्तिले आफ्नो ६० औँ जन्मदिन मनाइरहेका हुन्छन् । नेपालको कुल जनसङ्ख्याको १०.२१ प्रतिशत हिस्सा ओगट्दै गरेको ज्येष्ठ नागरिकको सङ्ख्या लगातार बढ्दो छ । अब यो जनसङ्ख्यालाई राज्यले संरक्षण गरेर राख्नु सम्भव छैन । परिवारलाई उत्तरदायी बनाई परिवारमा नै अधिकारसहितको संरक्षणको व्यवस्था गर्नु आवश्यक छ । ज्येष्ठ नागरिकलाई नयाँ प्रविधिको उपयोग गर्न सिकाई सक्रिय र सहज बुढ्यौली जीवनयापनमा सहयोग गर्न आवश्यक छ । ज्येष्ठ नागरिक आर्थिक रूपले सक्षम उमेर समूहमा पर्दछन् । उनीहरूलाई वित्तीय साक्षरता प्रदान गरी आर्थिक स्रोतको उपयोग गर्न सहजीकरण गर्नुपर्ने माग पनि बढिरहेको छ । 

ज्येष्ठ नागरिकका अनुभव, ज्ञान, र दक्षता नसमेटी गरिने विकासका कामले त्यति राम्रो नतिजा दिन सक्दैनन् । किनभने ज्येष्ठ नागरिकले त्यस्ता कामका थुप्रै अनुभव नजिकैबाट नियालेका हुन्छन् । कुनै पनि कामबाट आइपर्ने सकारात्मक र नकारात्मक असर र त्यसका दूरगामी प्रभावबाट सिकेको ज्ञान र भोगाइ ज्येष्ठ नागरिकमा बढी हुन्छ । त्यसैले अब विकासका हरेक पक्षमा ज्येष्ठ नागरिकको क्षमता र सहभागिता समावेश हुनै पर्छ । उनीहरूसँग भएको क्षमता र सिपलाई उपयोग गर्न सकेमा हाम्रो समुदाय र राष्ट्र समृद्धितर्फ लम्किने पक्का गर्न सकिन्छ । ज्येष्ठ नागरिकलाई उनीहरूको क्षमता, दक्षता र सिप अनुरूपको क्रियाकलापमा समावेश गराई सशक्तीकरण गर्नु पर्छ । उचित वातावरण र अवसर पाएमा उनीहरूले आफ्नो क्षमता, दक्षता र सिप अनुसारको काम गरी जीविकोपार्जन गर्न सक्छन् । 

यदि राज्य र ज्येष्ठ नागरिकसँग काम गर्ने सङ्घ संस्थाले यस्तो खाले अवसर तयार गरी दिएमा ज्येष्ठ नागरिक बोझ होइनन्, क्षमता, दक्षता र सिपका स्रोत हुन् भन्ने भावनाको उदय हुने थियो । उनीहरूको ज्ञान र सिपको प्रयोग नगर्दा हाम्रो समाजिक र सांस्कृतिक विकास ढिलो भइरहेको छ । ज्येष्ठ नागरिक समूह राज्यले भत्ता तथा निवृत्तिभरण दिने जनसङ्ख्या मात्र होइन, देशको विकास र समृद्धिको साझेदार समूह पनि हो । उनीहरूले लिने मात्र होइनन्, दिने धेरै कुरा छन् तर लिने वातावरण तयार गर्न प्रभावकारी नीति तथा कार्यक्रमको कार्यान्वयन आवश्यक छ ।

सम्मानित बुढ्यौलीका लागि विश्वव्यापी रूपमा स्याहार तथा सहयोग पद्धतिको विकास गरी ज्येष्ठ नागरिको क्षमता, योगदान र सहभागितालाई उपयोग गर्न सकेमा थुप्रै फाइदा हुने देखिन्छन् । ज्येष्ठ नागरिकमाथि हुने विभन्न खाले दुव्र्यवहारबाट मुक्त भई स्वतन्त्रतापूर्वक सम्मानजनक र सुरक्षित जीवन बाँच्न पाउने छन् । आफूमा निहित क्षमताको पूर्ण रूपमा विकास गर्न उपयुक्त अवसर पाउने छन् । उनीहरूमा भएको ज्ञान र सिपलाई युवापुस्ताले अवलम्बन गरी त्यस्ता सिपमूलक कार्यलाई दिगो रूप दिन सक्ने छन् । आफ्नो आम्दानीबाटै आफ्ना व्यक्तिगत आवश्यकता पूरा गर्न सक्ने छन् । यसबाट परिवारका अन्य सदस्यलाई आर्थिक भार कम पर्छ । सक्रिय बुढ्यौलीको माध्यमबाट समुदाय र देशको सेवा गरिरहने मौका प्राप्त गर्न सक्छन् । सक्रिय र व्यस्त रहँदा शारीरिक वा मानसिक रोग लाग्ने सम्भावना कम हुन्छ  । सक्रिय व्यक्ति सधैँ प्रशंसनीय र उदाहरणीय बन्न सक्दछन् । त्यसैले सम्मानित बुढ्यौलीका लागि विश्वव्यापी रूपमा स्याहार तथा सहयोग पद्धतिको विकास गर्दै ज्येष्ठ नागरिकको सहभागितालाई सुनिश्चित गर्नु नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउनु सार्थक हुने छ । 

Author

पवित्रा अधिकारी