• १५ असोज २०८१, मङ्गलबार

स्याउबाटै आर्थिक समृद्धि

blog

जुम्लाको तिला गाउँपालिका रारालिहीमा स्याउ लोड गर्दै गरेको ट्रक । तस्बिर : नेत्र शाही

नेत्र शाही  

जुम्ला, असोज १५ गते । जुम्ला चन्दननाथ नगरपालिका–८ निवासी स्याउ किसान धर्मसिंह कठायतले यस वर्ष आफूले साढे छ लाख रुपियाँ नगद स्याउबाट आम्दानी गरेको बताउनुभयो । उहाँले यस वर्ष स्याउ उत्पादन र बजारीकरण राम्रो भएकाले खुसी पनि व्यक्त गर्नुभयो । 

उहाँले झन्डै पाँच सय कार्टोन स्याउ बिक्री गर्नुभएको छ । धर्मसिंह जस्तै सयौँ किसानले लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । कार्यालयले ७९१ जना व्यापारीले स्याउ ढुवानी गर्न नाम दर्ता गरेका थिए । स्याउबाटै १० लाखसम्म आम्दानी गर्ने किसान पनि रहेका कृषि विकास कार्यालयले जनाएको छ । 

जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पाँच हजार ८६२ टन स्याउ निर्यात गरेको छ । कार्यालयले वार्षिक समीक्षा कार्यक्रम राखेर स्याउ निर्यातको प्रतिवेदनसमेत सार्वजनिक गरेको छ । कार्यालयले आव २०८०/८१ को प्रगति र आव २०८१/८२ को कार्यक्रमका विषयमा सार्वजनीकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यालयले शुक्रबार सम्पन्न गरेको समीक्षामा ढुवानीबाट पाँच हजार ५५० मेट्रिक टन, हवाई जहाजबाट २४ मेट्रिक टन, हाइस र जिपबाट २५८ मेट्रिक टन, बसबाट सिधै जुम्ला–काठमाण्डौँ ३० टन स्याउ पठाइएको छ । यो तथ्याङ्क अनुसार स्याउबाट मात्रै ४३ दिनमा जुम्लाले रु ३८ करोड १० लाख ३० हजार आम्दानी गरेको छ ।

जिल्ला कृषि विकास कार्यालयका बागवानी अधिकृत राज्यलक्ष्मी खत्रीका अनुसार यस वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान रहेको छ । उहाँका अनुसार स्थानीय स्याउ पाँच हजार ८६२ मेट्रिक टन २०८१ साउन २९ देखि २०८१ असोज ८ गतेसम्मको हो ।  

गुठीचौर गाउँपालिका–४ का गोविन्दप्रसाद पाण्डे र मित्रप्रसाद अधिकारीले संयुक्त रूपमा ११ गाडी बिक्री गरेका छन् ।  सात गाडी कैलाली टीकापुरमा र तीन गाडी सुर्खेतमा बिक्री गरेका हुन् । एक गाडी स्याउ करिब आठदेखि १० लाखमा बिक्री गरेका हुन् । स्याउ सिजनमा सानोतिनो आम्दानी नभएको घर करिब कमै रहेको छ । स्याउ रोपेका हरेक घरले यसबेला १० हजार देखि १० लाखसम्मको आम्दानी गर्ने गरेका छन् । कृषि विकास कार्यालय जुम्लाका अनुसार जनगणना २०७८ अनुसार एक लाख १९ हजार ३७७ जुम्लाको जनसङ्ख्या छ । ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिनमा दुई हजार ६६७ हेक्टर स्याउ रहेको छ । 

स्याउ किसान गोपाल रोकायाले किसानलाई आएका कार्यक्रमहरू फ्रिज नजाने गरी काम गर्न सुझाव दिनुभयो । उहाँले स्थानीय तहले पनि कृषि क्षेत्रमा बजेट प्राथमिकता दिनुपर्ने बताउनुभयो । जिल्ला समन्वय अधिकारी सङ्गीता धितालले आफू पनि कृषि क्षेत्रमा आएका कारण चासो राखेको बताउँदै आगामी दिनमा राम्रो गर्नका लागि कदम चाल्नुपर्ने बताउनुभयो ।